
इजरायली रक्षा बल (आईडीएफ) ले मंगलबार केही समयअघि सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै ईरानबाट इजरायलतर्फ प्रक्षेपण गरिएको मिसाइलहरूको पहिचान भएको पुष्टि गरेको छ।
आईडीएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "केही बेर अघि इरानबाट इजरायलतर्फ प्रक्षेपण गरिएका मिसाइलहरूको पहिचान गरिएको छ। खतरा न्यूनीकरण गर्नका लागि हाम्रो रक्षा प्रणाली सक्रिय पारिएको छ।"
इजरायली जनतालाई सुरक्षित स्थानमा जान र अर्को सूचना नआउञ्जेलसम्म त्यहीँ बस्न अपिल गरिएको छ। अहिले इजरायली सुरक्षा संयन्त्र उच्च सतर्कतामा रहेको बताइएको छ।
यो घटना त्यस्तो बेला भएको हो जब अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–ईरानबीच युद्धविरामको घोषणा गरेका थिए।
युद्धविरामको घोषणापछि इरानका विदेशमन्त्री सैयद अब्बास अराजजीले पनि बिहान ४ बजेदेखि सैन्य कारवाही रोक्ने बताएका थिए। यस समाचारको समयअनुसार तेहरानमा अहिले बिहान ६ बजेको समय भइसकेको छ।
स्थिति थप तनावपूर्ण बन्दै जाँदा अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन सबै पक्षलाई आह्वान गरिरहेका छन्।