०५ साउन २०८३, मंगलबार
भिजिट भिसा प्रकरण

छानबिन समितिलाई माओवादीको स्वागत, विरोध गर्दै रास्वपा र राप्रपाले गरे संसद् बहिष्कार

असार १०, २०८२
काठमाडौं
छानबिन समितिलाई माओवादीको स्वागत, विरोध गर्दै रास्वपा र राप्रपाले गरे संसद् बहिष्कार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट भएको भिजिट भिसा प्रकरणबारे छानबिन गर्न सरकारले गठन गरेको समितिलाई प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले स्वागत गरेको छ ।

विपक्षी रास्वपा र राप्रपाले भने उक्त समितिले निष्पक्ष छानबिन गर्न नसक्ने भन्दै सदन बहिष्कार गरेका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा माओवादी उपमहासचिव वर्षमान पुनले सरकारले छानबिन आयोग गठन गरेकोमा आफूहरूले स्वागत गरेको बताए । उनले समितिले निष्पक्ष छानबिन गर्नेमा विश्वास रहेको बताए। 

रास्वपाका स्वर्णिम वाग्ले र राप्रपाका ज्ञानेन्द्र शाहीले सरकारले गठन गरेको छानबिन समिति प्रोपोगाण्डा भएको टिप्पणी गरे ।

शंकरदाश वैरागी नेतृत्वको समितिले निष्पक्ष छानबिन गर्न नसक्ने भएकोले संसदीय छानबिन समिति या जाँचबुझ आयोग ऐन अन्तर्गतको आयोग गठन गर्नुपर्ने आफूहरूको अडान रहेको वाग्लेले बताए ।

रास्वपा र राप्रपाले सरकारले गठन गरेको आयोगप्रति असहमति जनाउँदै सदन बहिष्कार गरे ।

कांग्रेसले सरकारले गठन गरेको समितिलाई शंकाको सुविधा दिएर केही समय हेर्न रास्वपासँग आग्रह गरेको छ । कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले सरकारको कामलाई विश्वासै नगर्नु संसदीय व्यवस्थाको विरोधमा हुने बताए ।

सोमबार बसेको बैठकको शुरूमै गृहमन्त्री रमेश लेखकले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैरागीको संयोजकत्वमा समिति गठन गरेको बारे जानकारी गराएका थिए। 

भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै रास्वपा लगायत विपक्षी दलले जेठ १३ देखि संसद्‌मा विरोध गर्दै आइरहेका छन् । रास्वपा र राप्रपाको बहिष्कारका बाबजुद प्रतिनिधिसभाले मंगलबार विनियोजन विधेयक पारित गर्दैछ ।

salt training

कमेन्ट गर्नुहोस्