
घरेलु टोली इङ्ल्यान्डविरुद्धको दुवै पालीमा उत्कृष्ट शतक बनाएका भारतीय टोलीका उपकप्तान ऋषभ पन्तलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले अनुशासनहीन काम नगर्न चेतावनी दिएको छ ।
अम्पायरको निर्णयमाथि प्रश्न उठाएको आरोपमा ऋषभलाई आईसीसीले चेतावनी दिएको हो । पछिल्लो २४ महिनाको अवधिमा ऋषभले पहिलोपटक गल्ती गरेकाले उनलाई सामान्य सजायमात्र सुनाइएको समाचारमा जनाइएको छ ।
पहिलो पालीमा भारतले बलिङ गरिरहँदा ऋषभ पन्तले आक्रोशित हुँदै अम्पायरको निर्णयप्रति असहमति जनाएका थिए । उनले लेभल एकको उल्लंघन गरेको आरोप आईसीसीले लगाएको छ । सजाय स्वरूप उनलाई एक डिमेरिट अंक पनि प्रदान गरिएको छ ।
यस्तो नियम उल्लंघन गर्दा आईसीसीले दुई डिमेरिट अंक दिने र म्याच फिको ५० प्रतिशत रकम जरिवाना तिराउने अधिकार राख्छन् । तर, अम्पायरले ऋषभलाई न्यूनतम् सजायमात्र गरेका छन् ।
पहिलो पालीमा इङ्ल्यान्डले ब्याटिङ गरिरहँदा बेन स्टोक्स र ह्यारी ब्रुक क्रिजमा थिए । त्यतिबेला बल निकै पुरानो भएको भन्दै ऋषभ पन्तले अम्पायरसँग बल परिवर्तनका लागि अनुरोध गरेका थिए ।
६१औं ओभरमा ऋषभले अनुरोध गरेपछि अम्पायरले बलको निरीक्षण गरेका थिए ।
त्यसपछि अम्पायरले बल परिवर्तन गर्न अस्वीकार गरेका थिए । पन्तले अम्पायरलाई फेरि एकपटक बल परीक्षण गर्न आग्रह गरे । तर, अम्पायरले पुन: बल परीक्षणका लागि स्वीकार गरेनन् । त्यसपछि ऋषभले आक्रोशित हुँदै जमिनमा बल बजारेका थिए ।
त्यतिबेला ऋषभ निकै आक्रोशित देखिएका थिए । त्यो भिडियो अहिले सामाजिक सञ्जालमा पनि भाइरल भइरहेको छ । ऋषभको उक्त व्यवहारलाई लिएर ग्राउन्ड अम्पायर क्रिस गेफनी र पाल रिफेल रुष्ट बनेका थिए ।
पहिलो टेस्टको चौथो दिन खेल निकै रोचक मोडमा पुगेको छ । अन्तिम दिनको खेल बाँकी रहँदा इङ्ल्यान्डले जीतका लागि तीन सय ५१ रनको लक्ष्य पाएको छ । दोस्रो पालीमा इङ्ल्यान्डका लागि ओपनर ज्याक क्राउली १२ र बेन डकेट नौ रन बनाउँदै क्रिजमा छन् ।
भारतले पहिलो पालीमा चार सय ७१ र दोस्रो पालीमा तीन सय ६४ रन बनाएको थियो । इङ्ल्यान्डले भने पहिलो पालीमा चार सय ६५ रन बनाएको थियो ।
विकेट किपर ब्याट्सम्यान ऋषभ पन्तले पहिलो पालीमा एक सय ३४ र दोस्रो पालीमा एक सय १८ रन बनाएका थिए ।