
बागमती अटो जिमखाना च्याम्पियनसिप तथा टीडीएस मोटर र्याली यही असार १४ गते हुने भएको छ ।
बागमती अटो मोबाइल्स एसोसिएसनको आयोजना तथा मोटोभर्स स्पोर्टस क्लब र जियोन ओभरल्यान्डको व्यवस्थापनमा प्रतियोगिता हुनेछ ।
अटो जिमखान तथा मोटर र्यालीमा ३२ गाडीसहित ७७ जना खेलाडी (ड्राइभर्स)को सहभागिता रहने आयोजकले जनाएको छ । च्याम्पियनसिपका क्रममा १८ जना दक्ष मार्शल परिचालन गरिने पनि आयोजकले जनाएको छ ।
बागमती प्रदेश प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोगमा सञ्चालन हुने र्याली ललितपुरको ग्वार्कोस्थित रोयल टुलिपबाट शुरू भई लुभु, लाकुरी भञ्ज्याङ, कुशादेवी–पनौती हुँदै बनेपास्थित चण्डेश्वरी ड्राइभिङ स्कूलमा पुगेर सम्पन्न हुनेछ ।
टीडीएस प्रणालीमा हुने र्यालीपछि सोही ड्राइभिङ स्कूलमा पहिलो बागमती अटो जिमखाना आयोजना गरिने आयोजकले जनाएको छ । च्याम्पियनसिपका लागि आकर्षक अस्थायी सर्किट निर्माण गरिने छ ।
दुई लाख रूपैयाँ प्राइज पुलको र्यालीका विजेताले शिल्ड, प्रमाणपत्र र गिफ्ट हयाम्पर पनि पाउने छन् । अटो जिमखानाका तीनजना विजयीले भने दुई लाख रूपैयाँ पुरस्कार पाउने छन् ।
विजयीहरू एसिएन अटो जिमखानाका लागि पनि चयन हुनेछन् । पाँच जनाभन्दा बढी महिला ड्राइभर सहभागी भएमा बेस्ट फिमेल ड्राइभर्स अवार्डसमेत प्रदान गरिने आयोजकले जनाएको छ ।