१० साउन २०८३, आइतबार

विश्वकप फुटबल २०२६ : इरान-इजरायल युद्धमा अमेरिका जोडिएपछि फिफा तनाबमा

असार १०, २०८२
काठमाडौं
विश्वकप फुटबल २०२६ : इरान-इजरायल युद्धमा अमेरिका जोडिएपछि फिफा तनाबमा

इरान र इजरायलबीच चलेको युद्धमा अमेरिका इजरायलको पक्षमा उभियो । अमेरिकाले इरानको तीनवटा आणविक संरचनामा आक्रमण पनि गर्‍यो । जवाफमा इरानले पनि कतारस्थित अमेरिकी सैन्य आधार शिविरमा मिसाइल आक्रमण गर्‍यो । 

त्यसपछि भने स्थितिले नाटकीय रूपमा कोल्टे फेर्‍यो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविराम घोषणा गरे । अमेरिकी राष्ट्रपतिले युद्धविराम घोषणा गरे पनि इरान र इजयालले एक-अर्काको भूभागमा आक्रमण जारी नै राखेका छन् । 

इरान–इजरायल युद्धमा अमेरिका जोडिन पुगेपछि यसको असर खेलकुद क्षेत्रमा पनि परेको छ । इरान–इजरायल युद्धका कारण पछिल्लो समय विश्व फुटबल महासंघ (फिफा) सन् २०२६ मा आयोजना हुने पुरुष विश्वकपलाई लिएर चिन्तित बनेको छ । 

सन् २०२६ को विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुँदैछ । उक्त विश्वकपका लागि इरानको टोली पनि छनोट भइसकेको छ । इरान र इजरायलबीच शान्ति वार्ता भए पनि तनाब लामो समय कायमै रहने फिफाको बुझाइ छ । 

आगामी विश्वकपमा इरानको प्रारम्भिक चरणको खेललाई लिएर फिफा चिन्तित बनेको छ । इरानको समूहगत चरणको खेल कसरी अमेरिकामा नपार्ने भन्ने विषय फिफाका लागि ठूलै चिन्ताको विषय बनेको समाचारमा जनाइएको छ ।

फिफाको नियम अनुसार, हालको स्थितिमा इरानलाई समूहगत चरणको खेल अमेरिकामा खेल्नबाट रोक्ने कुनै तरिका देखिएको छैन । फिफा आगामी विश्वकपमा इरान समूह ‘ए’मा परोस् भन्ने चाहन्छ । यसो भएमा समूह ‘ए’ का खेलहरू मेक्सिकोमा खेलिने छ ।

salt training

कमेन्ट गर्नुहोस्