
सुरक्षासम्बन्धी नेपाल–भारत द्विपक्षीय परामर्श समूह (आईएनबीसीजीएसआई)को सोह्रौं बैठक भारतको पुणेमा सम्पन्न भएको छ । बैठक सोमबार र मंगलबार बसेको हो ।
भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मुनु महावरले गरेका थिए भने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव (दक्षिण एसिया) गेहेन्द्र राजभण्डारीले गरेका थिए ।
प्रतिनिधिमण्डलमा सम्बन्धित परराष्ट्र तथा रक्षा मन्त्रालयका अधिकारीहरूका साथै भारतीय सेना र नेपाली सेनाका निर्देशनालयका पदाधिकारी सहभागी रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
बैठकमा दुवै पक्षले सुरक्षा र रक्षा सहकार्यसँग सम्बन्धित विविध विषय; उपकरण आपूर्ति, तालिम, संयुक्त सैन्य अभ्यास, विपद् राहत कार्य र सैन्य आदानप्रदानबारे छलफल गरेका थिए ।
यसका साथै प्रतिनिधिमण्डलले पारस्परिक रूपमा लाभदायक सहकार्यका सम्भावना खोज्न प्रमुख सार्वजनिक र निजी रक्षा क्षेत्रका उत्पादन स्थलहरूको पनि भ्रमण गरेको थियो ।
सन् २००३ मा स्थापित आईएनबीसीजीएसआई भारत र नेपालबीच द्विपक्षीय रक्षा र सुरक्षा सहकार्यलाई समन्वय गर्ने एक छाता संस्थागत संयन्त्र हो ।