२२ जेठ २०८३, शुक्रबार

थाइल्याण्डस्थित नेपाली स्वास्थ्यकर्मीहरूसँग मन्त्री पौडेलको अन्तरक्रिया, सुझाव संकलन

असार ११, २०८२
काठमाडौं
थाइल्याण्डस्थित नेपाली स्वास्थ्यकर्मीहरूसँग मन्त्री पौडेलको अन्तरक्रिया, सुझाव संकलन

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले थाइल्याण्डमा कार्यरत नेपाली स्वास्थ्यकर्मी, नीति निर्माता, बौद्धिक वर्ग तथा मेडिकल विद्यार्थीहरूसँग नेपालको स्वास्थ्य क्षेत्रमा सुधारका लागि अन्तरक्रिया गरेका छन्।

संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय बैठकमा सहभागी हुन बैंकक पुगेका मन्त्री पौडेलले त्यहाँ आयोजित विशेष कार्यक्रममा नेपाली समुदायसँग विचार-विमर्श गरेका हुन्। कार्यक्रम नेपाली राजदूतावास, बैंककको आयोजनामा सम्पन्न भएको हो।

कार्यक्रममा मन्त्री पौडेलले थाइल्याण्डको स्वास्थ्य सेवा प्रणाली, मेडिकल शिक्षा र स्वास्थ्य बीमाका क्षेत्रमा भएको सफल अभ्यासबारे जानकारी लिँदै त्यहाँ रहँदै आएका नेपालीहरूको अनुभव सुनेका थिए। उनले नेपालमा हाल स्वास्थ्य सेवा सुधार, विस्तार र स्वास्थ्य बीमाको नीतिगत पक्षमा भइरहेको प्रगतिबारे समेत जानकारी गराउँदै भने, “हामी सीमित स्रोतसाधनमै नागरिकलाई बढी सेवा पुर्‍याउने प्रयासमा छौं। तपाईंहरूजस्ता अनुभवी नेपालीहरूको सुझाव र अनुभव आगामी योजनामा उपयोगी बन्न सक्छ।”

कार्यक्रममा नेपालका राजदूत धनप्रसाद ओलीले थाइल्याण्डमा चिकित्सा शिक्षा, अभ्यास, नीति निर्माण र व्यवसायमा सक्रिय नेपालीहरूको ज्ञान र अनुभव आदानप्रदानबाट भविष्यमा नयाँ सम्भावना र सहकार्यका ढोका खोलिने विश्वास व्यक्त गरे।

अन्र्तक्रियामा सहभागी एप डेभलपर तथा स्वास्थ्य सेवा प्रदायक नेपालीहरूले नेपालमा सेवा विस्तारको तयारी गरिरहेको जानकारी गराए। यस्तै, स्वास्थ्य बीमा क्षेत्रमा जानकार सहभागीहरूले थाइल्याण्डको सफल अभ्यासबारे प्रस्तुत गराएका थिए।

मन्त्री पौडेलले संयुक्त राष्ट्रसंघीय बैठकमा नेपालका तर्फबाट सम्बोधन गर्नेछन् भने गैरआवासीय नेपालीहरूसँग पनि अलग्गै अन्तरक्रिया गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्