
काठमाडौं, २१ मंसिर– निर्वाचन विथोल्ने योजनाअन्तर्गत राजधानी काठमाडौंलगायत उपत्यकाका विभिन्न क्षेत्रमा बम बिस्फोट गराउँदै आएको समुहलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोले बिहीवार (मतदानकै दिन) काठमाडौंबाट ६ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरु नेत्रबिक्रम चन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता रहेका बुझिएको छ ।
उनीहरुलाई लोड गरिएको एकथान चाइनिज पेस्तोल र चारवटा बमसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।
पक्राउ पर्नेमा विप्लव नेतृत्वको नेकपाको युवा दस्ता प्रमुख रवि गोले, काठमाडौं जिल्ला प्रमुख मुक्ति भनिने विचारमान तामाङ, ललितपुर प्रमुख महेस नेपाली, न्याय विभाग प्रमुख विकेश लामा, नुवाकोट जिल्ला कमिटी प्रमुख राजीव तामाङ र कार्यकर्ता रोसन बिस्ट छन् ।
काठमाडौंका विभिन्न ठाउँमा सर्च गरेर उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौंलगायत उपत्यकाका विभिन्न ठाउँमा भएका बम बिस्फोटमा उनीहरुको संलग्नता रहेको प्रहरीको भनाइ छ ।
उनीहरुले विभिन्न मतदान केन्द्रमा ठूलो बिस्फोट गराउने योजना बनाइरहेका बेला पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो ।