१२ साउन २०८३, मंगलबार

पहिलो टेस्ट क्रिकेटमा इङ्ल्यान्डले भारतलाई हराउँदा बनेका यी रोचक कीर्तिमान

असार ११, २०८२
काठमाडौं
पहिलो टेस्ट क्रिकेटमा इङ्ल्यान्डले भारतलाई हराउँदा बनेका यी रोचक कीर्तिमान

घरेलु टोली इङ्ल्यान्डले पहिलो टेस्ट क्रिकेटमा भारतलाई पाँच विकेटले हरायो । पहिलो टेस्टको पाँचौँ तथा अन्तिम दिन इङ्ल्यान्डले आफ्नो दोस्रो पालीमा पाँच विकेट गुमाएर तीन सय ७३ रन बनाउँदै विजय लक्ष्य पार गरेको हो । 

इङ्ल्यान्डले जितका लागि तीन सय ७१ रनको लक्ष्य पाएको थियो । भारतले पहिलो पालीमा चार सय ७१ रन बनाएको थियो । इङ्ल्यान्डले पहिलो पालीमा चार सय ६५ रन जोडेको थियो । भारतीय टोली दोस्रो पालीमा तीन सय ६४ रनमा अलआउट भएको थियो । 

भारतले इङ्ल्यान्डसँग पाँचवटा टेस्टको शृंखला खेल्ने कार्यक्रम छ । यो शृंखला आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको नयाँ सत्रको अंग हो । इङ्ल्यान्ड र भारतबीचको दोस्रो टेस्ट जुलाई २ तारिखमा बर्मिङ्घममा शुरू हुनेछ । पहिलो टेस्टमा केही कीर्तिमान पनि बनेका छन् । 

यी हुन् पहिलो टेस्टमा बनेका केही कीर्तिमान

३७१ :लिड्सस्थित हेडिङ्ली क्रिकेट मैदानमा इङ्ल्यान्डले तीन सय ७१ रनको लक्ष्य पूरा गर्‍यो । टेस्ट क्रिकेटको इतिहासमा चौथो पाली खेल्दै इङ्ल्यान्डले पूरा गरेको यो दोस्रो ठुलो लक्ष्य हो । टेस्ट क्रिकेटको इतिहासमा भारतविरुद्ध कुनै पनि टोलीले पूरा गरेको यो दोस्रो ठुलो विजयलक्ष्य पनि हो । यसअघि सन् २०२२ मा एजबास्टनमा सन् २०२२ मा खेलिएको टेस्टमा भारतले दिएको तीन सय ७८ रनको लक्ष्य इङ्ल्यान्डले पूरा गरेको थियो । 

३५० : भारतविरुद्धको पहिलो टेस्टको अन्तिम दिन जितका लागि इङ्ल्यान्डले तीन सय ५० रन बनाउनु आवश्यक थियो । टेस्ट क्रिकेटको इतिहासमा अन्तिम दिन कुनै पनि टोलीले पूरा गरेको यो दोस्रो ठुलो विजयलक्ष्य हो । यसअघि सन् १९४८ मा हेडिङ्लीमा खेलिएको इङ्ल्यान्ड विरुद्धको टेस्टको अन्तिम दिन अस्ट्रेलियाले ४०४ रनको विजयलक्ष्य पूरा गरेको थियो । 

१ :इङ्ल्यान्ड विरुद्धको पहिलो टेस्टमा भारतका पाँच ब्याट्सम्यानले शतक बनाए । पहिलो पालीमा यशस्वी जैसवाल, कप्तान शुभमन गिल र ऋषभ पन्तले शतक बनाएका थिए । दोस्रो पालीमा पनि ऋषभ पन्त र केएल राहुलले शतक बनाएका थिए । पाँच ब्याट्सम्यानले शतक बनाए पनि टेस्ट क्रिकेटमा हार भोग्ने भारत इतिहासकै पहिलो टोली बनेको छ । यसअघि सन् १९२८ मा मेलबर्नमा खेलिएको इङ्ल्यान्ड विरुद्धको टेस्टमा चारवटा शतक बनाएर पनि अस्ट्रेलिया पराजित भएको थियो । 

८३५ :हेडिङ्लीमा खेलिएको इङ्ल्यान्ड विरुद्धको पहिलो टेस्टमा भारतले दुवै पालीमा गरेर कूल आठ सय ३५ रन बनायो । टेस्ट क्रिकेटको इतिहासमा केवल चौथो पटक यस्तो स्थिति सृजना भएको हो कि कुनै पनि टोलीले आठ सय ३५ रन बनाउँदा पनि हारको सामना गर्नुपर्‍यो । यसअघि सन् २०१४ मा एडलेइडमा खेलिएको अस्ट्रेलिया विरुद्धको टेस्टमा दुबै पालीमा गरेर सात सय ५९ रन बनाउँदा पनि भारतीय टोली पराजित भएको थियो । 

३ :भारत र इङ्ल्यान्ड विरुद्धको पहिलो टेस्टको चारवटै पालीमा तीन सय ५० भन्दा बढी रन बन्यो । टेस्ट क्रिकेटको इतिहासमा यो केवल तेस्रो पटक भएको हो । यसअघि सन् १९२१ मा एडलेइडमा र सन् १९४८ मा हेडिङ्लीमा खेलिएको टेस्टमा चारवटै पालीमा तीन सय ५० भन्दा बढी रन बनेको थियो । 

१६७३ :हेडिङ्लीमा खेलिएको भारत र इङ्ल्यान्डबीचको टेस्टमा दुवै टोलीले मिलेर कूल एक हजार ६ सय ७३ रन बनाए । इङ्ल्यान्ड र भारतबीच खेलिएको टेस्टमा बनेको यो सबैभन्दा बढी रन हो । यसअघि सन् १९९० मा म्यानचेस्टरमा खेलिएको भारत र इङ्ल्यान्डबीचको टेस्टमा कुल एक हजार एक सय १४ रन बनेको थियो । त्यो टेस्ट बराबरीमा सकिएको थियो । 

५ :हेडिङलीमा खेलिएको टेस्टमा कुनै पनि टोलीले चौथो पालीमा तीन सयभन्दा बढी रनको लक्ष्य पूरा गरेको यो पाँचौँपटक हो । यो स्टेडियममा इङ्ल्यान्डले तीन सय ७१ भन्दा बढी रनको लक्ष्य पूरा गर्दै भारतलाई हराएको यो दोस्रो पटक हो ।  

१४९ :चौथो पालीमा इङ्ल्यान्डका ब्याट्सम्यान बेन डकेटले एक सय ४९ रन बनाए । भारत विरुद्धको टेस्टमा चौथो पालीमा ब्याटिङ गर्दै इङ्ल्यान्डका कुनै पनि ब्याट्सम्यानले बनएको यो सबैभन्दा ठुलो स्कोर हो । यसअघि सन् २०२२ मा एजबास्टनमा खेलिएको भारत विरुद्धको टेस्टमा चौथो पालीमा इङ्ल्यान्डका लागि जो रुटले अविजित एक सय ४२ रन बनाएका थिए । 

बेन डकेटले बनाएको एक सय ४९ रन इङ्ल्यान्डका लागि कुनै पनि ओपनर ब्याट्सम्यानले चौथो पालीमा बनाएको दोस्रो ठुलो स्कोर पनि हो । यसअघि सन् १९९५ मा इङ्ल्यान्डका ओपनर ब्याट्सम्यान माइक एथर्टनले दक्षिण अफ्रिकाविरुद्ध चौथो पालीमा अविजित एक सय ८५ रन बनाएका थिए । 

१८८ :इङ्ल्यान्डका लागि दोस्रो पालीमा ज्याक क्रावली र बेन डकेटले ओपनिङ विकेटका लागि एक सय ८८ रनको साझेदारी गरे । टेस्ट क्रिकेटको इतिहासमा चौथो पालीमा आएर कुनै पनि ओपनर ब्याट्सम्यानको जोडीले गरेको यो पाँचौँ ठुलो साझेदारी हो । 

चौथो पालीमा इङ्ल्यान्डका ओपनर ब्याट्सम्यानले गरेको भने यो दोस्रो ठुलो साझेदारी हो । यसअघि सन् १९९१ मा अस्ट्रेलियाविरुद्ध इङ्ल्यान्डका ओपनर ब्याट्सम्यान माइक एथर्टन ग्राहम गुचले चौथो पालीमा दुई सय तीन रनको साझेदारी गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्