१६ असार २०८३, मंगलबार

वर्षाका कारण काठमाडौंको फोहर व्यवस्थापनमा समस्या नहुने

असार ११, २०८२
काठमाडौं
वर्षाका कारण काठमाडौंको फोहर व्यवस्थापनमा समस्या नहुने

काठमाडौं महानगरपालिकाले वर्षातका कारण विगतका वर्षमा जस्तो यस वर्ष फोहर व्यवस्थापनमा समस्या नहुने जनाएको छ । वर्षाको समय शुरू भएसँगै विगतका वर्षमा नागरिकले लामो समयसम्म फोहर व्यवस्थापन नहुँदा निकै समस्या भोग्नुपरेको थियो । 

यस वर्ष भने महानगरले वर्षायाम शुरू भएसँगै फोहर व्यवस्थापनका लागि विगतका वर्षमा हुने समस्या समाधान भइसकेकाले सहज हुने जनाएको छ ।

वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार विगतका वर्षमा पटक–पटक समस्या आउने तीन पिप्लेदेखि अन्तिम फोहर वयवस्थापनस्थल बञ्चरेडाँडासम्मको सडक मर्मतको काम भइसकेकाले फोहर व्यवस्थापनका लागि सहज हुनेछ । 

‘विगतमा फोहर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलमा पनि विगतको फोहरलाई (क्यापिङ्) माटोले छोपेर मिलाउने काम गरिसकेको र सडक मर्मतको काम पनि भइसकेकाले फोहरकै कारण नागरिकले सास्ती खेप्नुपर्दैन ’, राईले भनिन् । 

राईका अनुसार तीन पिप्लेदेखि सिसडोलसम्म केही स्थानमा पहिरो जाने गरेकामा ती स्थानमा पर्खाल निर्माण गरिएकाले नियमित पानी परे पनि समस्या हुँदैन ।     
     
महानगरका कूल ३२ वडामध्ये भित्री नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ । हरेक दिन उपत्यकाबाट एक हजार ६०० मेट्रिकटन फोहर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ ।

काठमाडौं उपत्यकाका १८ स्थानीय तहमध्ये सबैभन्दा बढी महानगरको ५०० मेट्रिक टन बञ्चरेडाँडा लग्ने गरिएको छ । निजी क्षेत्रबाट व्यवस्थापन हुने र महानगरको गरी दैनिक कम्तीमा २०० गाडीले फोहर ओसार्ने गरेको छ ।     
     
शुरूमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहरको अन्तिम व्यवस्थापन हुँदै आएको छ । २०६८ मा सरकारले जारी गरेको फोहरमैला व्यवस्थापन ऐन र २०७७ मा महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम शहरी सरसफाइ र स्वच्छताका लागि फोहरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने कानूनी व्यवस्था छ । 

यसअनुसार उत्पादकले भान्सामा जैविक र अजैविक फोहरलाई छुट्टाछुट्टै भाँडामा राख्नुपर्ने हुन्छ । पछिल्लो समय महानगरले बञ्चरेडाँडामा लग्ने फोहर घटाउनका लागि ३२ वडालाई छ क्षेत्रमा निर्धारण गरेर फोहर वर्गीकरणको काम गरिरहेको छ ।   

salt training

कमेन्ट गर्नुहोस्