
बाराको पथलैया चोकबाट चरेससहित एक जना व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाराले दिएको जानकारीअनुसार नारायणघाटबाट वीरगञ्जतर्फ आउँदै गरेको ना ५ ख ८१०१ नम्बरको यात्रुबाहक बसमा चेकजाँचका क्रममा लागू औषधसहित व्यक्ति पक्राउ परेका हुन्।
प्रहरी चौकी पथलैया बाराबाट प्रहरी निरीक्षक बब्बी बम्जनको नेतृत्वमा खटिएको टोलीले बुधबार दिउँसो करिब ४ः५० बजे सो बसमा चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा सह–चालक साइडको सिटमा कालो झोला बोकी बसेका एक व्यक्तिको झोलामा शंका लागेपछि खोल्दा १ किलो ९३३ ग्राम लागू औषध चरेस फेला परेको थियो।
साथै उक्त झोलाबाट नेपाली रुपैयाँ ६० हजार ५ सय र भारतीय रुपैयाँ ३९ हजार २१७ रुपैयाँसहित कुल १ लाख २३ हजार २ सय ४७ बराबरको नगद पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्ति पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ स्थायी ठेगाना भई हाल बाराको जीतपुर सिमरा उपमहानगरपालिका–६ सिदरीया टोलमा बस्दै आएका ५६ वर्षीय बच्चु कुमार बुढाथोकी रहेका छन्। उनलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ।