
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेकपा एमालेले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय कमिटी सस्दय उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको छ ।
बुधबार च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
यसअघि गत पुस १० गतेको सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाट निष्काशन गर्दै पाण्डे र तिम्सिनालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । मंगलबार निलम्बनको ६ महिना पुगेको भोलिपल्ट बसेको बैठकले कारबाही फुकुवा गरेको हो ।
००००
यसैगरी एमालेले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको एक वर्ष सन्तोषनजक रहेको निष्कर्ष निकालेको छ । यस्तै भदौमा विधान महाधिवेशन गर्ने, त्यसअघि केन्द्रीय समिति बैठक बस्नेलगायतका निर्णय पनि एमालेले गरेको छ ।
००००
पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रिहा भएका छन् ।
पतञ्जली जग्गा प्रकरणमा विशेष अदालतले मागेको ३५ लाख रुपैयाँ धरौटी बुझाएसँगै बुधबार राति उनी रिहा भएका हुन् ।
अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले धरौटी बुझाएसँगै नेपाल रिहा भएको जानकारी दिए ।
बुधबार नै बयान र थुनछेक बहसपछि विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतले धरौटीमात्रै माग गरेपछि नेपाल पुर्पक्षका लागि कारागार जानबाट जोगिएसँगै उनलाई केही भएपनि राहत भएको छ ।
००००
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक डा गणेशप्रसाद भट्टराईले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीका साथ तीव्र गतिमा काम भइरहेको बताए ।
००००
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमार्फत् ललितपुरको कुपण्डोलमा सञ्चालित परोपकार नर्सिङ क्याम्पसमा विना प्रतिस्पर्धा नर्सिङ प्रशिक्षक नियुक्त नगरिएको अस्पतालले जनाएको छ ।
अस्पतालको क्याम्पसले विषयसँग सम्बन्धित प्रशिक्षक चार जना २०८१ पुस २२ गते माग गरेको बताइएको छ ।
००००
प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सदस्यता शुल्क र लेबी तिरेका छन् ।
एमालेको केन्द्रीय कार्यालय, च्यासलको वित्त तथा कोष व्यवस्थापन विभागमा पुगेर ओलीले बुधबार आर्थिक दायित्व तिरेका हुन् ।
००००
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बुधबार सामान्य अंकको गिरावट देखिएको छ ।
नेप्से परिसूचक शून्य दशमलव ३३ अंकले घटेर दुई हजार ६०० दशमलव २० को विन्दुमा कायम भएको हो ।
००००
गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक असार महिनाभित्रै प्रतिनिधिसभामा पेस गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन् ।
बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले सम्भव भए नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक पनि असार महिनाभित्रै समितिबाट पारित गरेर सदनमा पेस गर्ने वातावरण बनाइदिन आग्रह गरेका हुन् ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय समितिमा सहमति भइसकेको विधेयक संसद्को कार्यसूचीमा चढेर पनि फिर्ता हुनु गम्भीर विषय रहेको बताएका छन् ।
समितिमा सहमति भएका विधेयकमा छेडखानी नगर्न उनले सरकारको ध्यानाकर्षण गराए । बुधवार बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा प्रचण्डले संघीय निजामती विधेयक संसद्को कार्यसूचीमा परेर पनि स्थगित हुनु गम्भीर विषय रहेको बताएका हुन् ।
००००
नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
उनले राष्ट्र बैंकमा असार असार ५ गते बुझाएको सम्पत्ति विवरणमा ललितपुरको भैँसेपाटी र नवलपुरको गैँडाकोटमा पत्नीको नाममा घर रहेको उल्लेख छ ।
००००
अखिल नेपाल फुटबल संघ (एन्फा)का सहायक महासचिव अरुणमान जोशीले पदबाट राजीनामा दिएका छन् । एन्फाले थ्री स्टार क्लबमाथि पूर्वाग्रह राखेर अन्याय गरेको कारण देखाउँदै उनले पदबाट राजीनामा दिएका हुन् ।