
समकालीन विश्व फुटबलका महान खेलाडीमध्येका एक क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियन क्लब अल–नासरसँग दुई वर्षका लागि सम्झौता गर्ने भएका छन् । ४० वर्षीय रोनाल्डो यसअघि पनि अल–नासरमै थिए ।
जुनको अन्त्यमा उनको सम्झौता अवधि सकिँदैछ । अल–नासरसँगको सम्झौता सकिएपछि रोनाल्डो अन्य क्लबमा जाने चर्चा पनि चलिरहेको छ । पोर्चुगिज राष्ट्रिय टोलीको कप्तानसमेत रहेका रोनाल्डो आफैंले भने यस विषयमा केही बताएका छैनन् ।
यसैबीच, अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले रोनाल्डो थप दुई वर्ष अल–नासरमै रहने दाबी गरेको छ । बीबीसीका अनुसार, केही दिनभित्रै अल–नासरले रोनाल्डोसँग थप दुई वर्षका लागि नयाँ सम्झौता गर्नेछ ।
यस विषयमा अल–नासर र रोनाल्डोबीच सहमति भइसकेको दाबी पनि समाचारमा गरिएको छ । केही समयअघि रोनाल्डो समाजिक सञ्जालमा ‘अर्को अध्याय समाप्त भयो’ भन्ने पोष्ट गरेका थिए । सोही पोष्टलाई लिएर उनले अल–नासर छाड्न लागेको अनुमान गरिएको थियो ।
रोनाल्डो हाल फिफा क्लब विश्वकप खेलिरहेको कुनै टोलीमा आबद्ध हुने आशंका पनि गरिएको थियो । रोनाल्डोको क्लब अल–नासर भने क्लब विश्वकपमा छनोट नै हुन सकेन । रोनाल्डोले पनि क्लब विश्वकपमा सहभागी क्लबमध्ये केहीबाट आफूलाई प्रस्ताव आएको स्वीकारेका थिए ।
इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड, स्पेनिस पावर हाउस रियल म्याड्रिड र इटालियन सिरिए क्लब युभेन्ट्सबाट समेत व्यवसायिक फुटबल खेलिसकेका रोनाल्डोले केही समयअघि पोर्चुगललाई यूईएफए नेशन्स लिगको उपाधि पनि चुमाएका थिए ।
रोनाल्डो सन् २०२३ मा अल–नासरमा आबद्ध भएका थिए । उनले अल–नासरबाट एक सय ११ खेल खेल्दै ९९ गोल गरिसकेका छन् ।