
स्पेसएक्सको ड्र्यागन अन्तरिक्ष यानमा सवार भारतीय वायुसेनाका समूह कप्तान शुभांशु शुक्लाले अन्तरिक्षबाट पहिलोपटक ‘नमस्कार’ गर्दै पृथ्वीमा सन्देश पठाएका छन् ।
उनले अन्तरिक्षमा शून्य गुरुत्व बलमा रहँदा ‘शिशुझैँ सिकिरहेको’ अनुभव सुनाएका छन् ।
शुक्ला र अन्य तीन अन्तरिक्षयात्री सवार अक्सियम–४ मिसनको अन्तरिक्षयान अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा करिब ४:३० बजे भारतीय समयअनुसार जडान (डक) हुने तालिका रहेको छ ।
त्यसअघि, उनले स्पेसएक्सको प्रत्यक्ष प्रसारणमार्फत भनेका थिए, ‘सर्वप्रथम सबैलाई नमस्कार । अन्तरिक्षबाट धेरै रमाइलो अनुभव गरिरहेको छु । यहाँ आइपुग्न पाएकोमा निकै उत्साहित छु ।’
शुक्लाले भनेका छन्, ‘हिजोदेखि मलाई भनिएको छ कि म धेरै सुतिरहेको छु, जुन राम्रो संकेत हो । म क्रमशः अनुकूल हुँदैछु, दृश्यहरूको आनन्द लिइरहेको छु । यहाँ हिँड्न, खान सिक्न बच्चाजस्तै सिकिरहेको छु । गल्ती गर्नु राम्रो हो, तर अरूले गरिरहेको हेर्नु अझै राम्रो अनुभव हो ।’
उनले आफ्नो यो यात्रालाई भारतको मानव अन्तरिक्ष अभियानतर्फको ‘सानो तर दृढ र महत्त्वपूर्ण’ कदमको रूपमा व्याख्या गरेका छन् ।
३९ वर्षीय शुक्ला १९८५ अक्टोबर १० मा उत्तर प्रदेशको लखनउमा जन्मिएका हुन् । उनी भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)को गगनयान मिसनका लागि छनोटमा परेका चार अन्तरिक्षयात्रीमध्ये एक हुन् । उनी विगत १९८४ मा सोभियत संघको साल्युत–७ अन्तरिक्ष केन्द्रमा ८ दिन बिताएका राकेश शर्मापछि अन्तरिक्ष यात्रा गर्ने पहिलो भारतीय नागरिक बनेका छन् ।
धेरैपटक स्थगित भएको उडान अन्ततः यही जुन २५ का दिन भारतीय समयअनुसार दिउँसो १२:०१ बजे अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट सफलतापूर्वक प्रक्षेपण गरिएको थियो ।
फाल्कन–९ रकेटको सहायतामा उडाइएको सो मिसनमा शुभांशु शुक्लासँगै अमेरिकी अन्तरिक्ष यात्री पेगी ह्विटसन, हंगेरीका तिबोर कापु र पोल्यान्डका स्लावोस उज्नान्स्की–विश्वनेव्स्की सहभागी छन् ।
अन्तरिक्षमा मिसन प्रवेश गरेपछि राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, विज्ञान तथा प्रविधि मन्त्री जितेन्द्र सिंहदेखि क्रिकेट खेलाडी सचिन तेन्दुलकरलगायत थुप्रै व्यक्तिहरूले शुक्ला र टोलीलाई बधाई दिएका छन् ।