
इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले संयुक्त राज्य अमेरिकासामु कहिल्यै आत्मसमर्पण नगर्ने घोषणा गरेका छन् ।
इजरायलसँगको १२ दिने युद्ध रोकिएको केही दिनपछि बिहीबार सार्वजनिक सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
‘अमेरिकी राष्ट्रपति (डोनाल्ड ट्रम्प)ले इरानले आत्मसमर्पण गर्नुपर्ने भनेका छन् । अब कुरा युरेनियम प्रशोधनको होइन, इरान स्वयं आत्मसमर्पण गर्नुपर्ने माग हो’, खामेनीले भने, ‘तर, यस्तो आत्मसमर्पण कहिल्यै हुनेछैन ।’
उनको यो भनाइ १२ दिनसम्म चलेको युद्धपछिको पहिलो सार्वजनिक प्रतिक्रिया हो । खामेनीले अमेरिकी आक्रमणबाट इरानको आणविक पूर्वाधारमा खासै क्षति नपुगेको पनि दाबी गरे ।
‘अमेरिकाले हामीमाथि आक्रमण गर्यो, तर उनीहरूले केही पनि प्राप्त गरेनन्’, खामेनीले भने, ‘ट्रम्पले भनिएजस्तो हाम्रो आणविक केन्द्रमा खासै असर परेको छैन ।’
उनले थपे, ‘इरानले यो युद्धमा विजय प्राप्त गर्यो । हामीले अमेरिकाको अनुहारमा गम्भीर चड्कन दिएका छौं ।’
यसैबीच, तेहरानस्थित अल जजिराका संवाददाता रेसुल सेर्दारका अनुसार खामेनीले सम्बोधनमा इरानी सेनाको प्रशंसा गर्दै इजरायली आक्रमणबाट गम्भीर क्षति पुगेको भन्ने धारणा खारेज गरे ।
इरानी रक्षा प्रणालीको प्रभावकारितामाथि जनता र विश्लेषकहरूले प्रश्न उठाइरहेका बेला उनले सेनाको मनोबल उच्च राख्ने प्रयास गरे ।
‘हामीले इजरायलका सैन्य र असैन्य पूर्वाधारमा पर्याप्त क्षति पुर्याएका छौं’, खामेनीले भने, ‘यदि इजरायलले फेरि आक्रमण गर्छ भने अझ ठूलो विनाश देख्नुपर्नेछ ।’
उनले इरानको आणविक कार्यक्रम अझै सक्रिय रहेको र अमेरिकाले दाबी गरेजस्तो ध्वस्त नभएको पनि स्पष्ट पारे ।
‘अधिकांश आणविक केन्द्रहरू सुरक्षित छन् र हामी कार्यक्रम निरन्तर अघि बढाउँछौं, खामेनीले भने ।