
काठमाडौं उपत्यकासहित देशका धेरैजसो पहाडी भेगमा रातभर पानी परेको छ । राति काठमाडौंसहित डोटी, डोल्पा, रुकुम, म्याग्दी, कास्की, मनाङ, लमजुङ, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, इलामलगायत ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको हो ।
अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौंसहित देशमा बाँकी ठाउँमा घाम लागेको छ ।
महाशाखाका अनुसार अबका केही दिन राति पानी पर्ने र दिउँसो घाम लाग्ने देखिएको छ । मनसुनी वर्षाको प्रणाली अझै कमजोर रहेकाले दिनभन्दा रातमा बढी पानी पर्ने गरेको हो । महाशाखाका मौसमविद्का अनुसार नेपालनजिक मनसुनी रेखा निकै पातलो छ । त्यो बलियो भएसँगै मनसुन बलियो भएर देशव्यापी वर्षा हुनेछ ।
आज दिउँसो र राति सबै प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत बाँकी प्रदेशका पहाडी भू-भागमा र हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत कोशी र बागमतीका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुनेछ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराईका भू-भागका तथा मधेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ भने कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।