०६ असार २०८३, शनिबार

स्वास्थ्य स्वयंसेविकालाई वडा कार्यालयको साइकल

असार १३, २०८२
सिरहा
स्वास्थ्य स्वयंसेविकालाई वडा कार्यालयको साइकल

सिरहाको गोलबजार नगरपालिका–१० वडा कार्यालयले स्थानीय स्तरमा स्वास्थ्य सेवा प्रवाहमा सहयोग गर्दै आएका स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ ।

वडा कार्यालयको आयोजनामा आयोजित कार्यक्रममा पाँच स्वास्थ्य स्वयंसेविकालाई एक एक थान साइकल प्रदान गरिएको हो । जिल्ला समन्वय समितिका उपसभापति दिलीप लामाले महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको प्रशंसा गर्दै वडा कार्यालयले गरेको पहल अनुकरणीय रहेको बताए । 

'स्वास्थ्य क्षेत्रमा स्वयंसेविकाको भूमिका महत्वपूर्ण हुन्छ,' उनले भने, 'यस्तो कार्य अन्य वडाका लागि प्रेरणादायी बन्छ ।' 

गोलबजार–१० वडाध्यक्ष उपेन्द्रकुमार मुखियाले साइकल वितरणको उद्देश्यबारे भन्नुभयो, 'स्वयंसेविकाले घरदैलोमै पुगेर सेवा दिनुपर्छ । उनीहरू टाढाटाढासम्म पैदल हिँड्न बाध्य थिए । अब साइकल पाउँदा उनीहरूको काम सहज र प्रभावकारी बन्ने विश्वास छ,' उनले भने । 


साइकल वितरणले आफूहरूमा कामप्रति अझ बढी उत्प्रेरित हुन सहयोग पुगेको महिला स्वास्थ्य स्वयंसेविकाहरूले बताएका छन् । स्वास्थ्य स्वयंसेविका निमा लामाले भनिन्, 'हामीलाई घरदैलोमै सेवा दिनुपर्छ । धेरैपटक टाढाटाढा हिँड्नुपथ्र्यो, समय बढी खर्च हुन्थ्यो । अब साइकल पाएपछि हामी सहज रूपमा समुदायमा पुग्न सक्छौँ ।'

अर्की स्वयंसेविका पुजन थापाले भनिन्, 'वडाले दिएको यो सहयोगले हाम्रो कामप्रति सम्मान महसुस गरायो । यसले हामीलाई अझ जिम्मेवार र प्रेरित बनाएको छ ।'

कमेन्ट गर्नुहोस्