
अर्घाखाँचीमा भाइको हत्या गरेको आरोपमा दाइ पक्राउ परेका छन् ।
३२ वर्षीय भाइ वमबहादुरको हत्या गरेको आरोपमा शितगंगा नगरपालिका–६ पाखापानीका ४२ वर्षीय विष्णु भनिने टेकबहादुर बादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक चक्र मल्लले जानकारी दिए ।
दाजु-भाइबीच लामो समयदेखि विवाद रहँदै आएको प्रहरीको भनाइ छ ।
बिहीबार साँझ दुवै जनाले मदिरा सेवन गरेका थिए । त्यहीबेला उनीहरूको विवाद शुरू भएको हो । विवाद बढ्दै गएपछि विष्णुले भाइको टाउकोमा बन्चरो प्रहार गरेका डीएसपी मल्लले बताए ।
बन्चरो प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका वमबहादुरलाई स्थानीयले तत्काल प्राथमिक स्वास्थ्य केन्द्र ठाडा लगेका थिए ।
उनको उपचारको क्रममा राति १ बजेतिर मृत्यु भएको हो । मृतक बमबहादुर अविवाहित हुन् ।
विष्णु बहादुरका श्रीमती र छोराछोरी छन् । घटनापछि फरार रहेका विष्णुबहादुरलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।