०३ साउन २०८३, आइतबार

रास्वपाको लोकप्रियताबाट पुराना दलहरू आत्तिएका छन्- उपसभापति वाग्ले

असार १३, २०८२
बुटवल
रास्वपाको लोकप्रियताबाट पुराना दलहरू आत्तिएका छन्- उपसभापति वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपाको जनमत देखेर पुराना दलहरू आत्तिएको बताएका छन् । गत निर्वाचनमा रवि लामिछानेले ४/५ महिनाकै तयारीमा १२ लाख भोट र २१ जनालाई सांसद जिताएपछि पुराना दलहरू आत्तिएको उनको भनाइ छ । 

शुक्रबार रुपन्देही क्षेत्र नम्बर ३ को शुद्धोधनमा पार्टी सभापति लामिछानेको पक्षमा हस्ताक्षर अभियान उद्‌घाटन गर्दै उनले रवि र रास्वपाको लोकप्रियताबाट तर्सेर सरकारले रविमाथि सहकारी प्रकरणमा राजनीतिक प्रतिशोध साँधेको बताए । न्यायालयले अन्तिममा न्याय दिने विश्वास रहे पनि पार्टीलाई बलियो बनाउन अभियान छाड्न नहुने उनको भनाइ छ ।

उस्तै प्रकृतिका केसमा अरुलाई प्रहरीमा बोलाएर चिया खुवाएर पठाएको, १८ करोडको आरोप लागेका पूर्वप्रधानमन्त्रीलाई एक घण्टामै सफाइ दिएर ३५ लाख बुझाएर जाउ भनेको तर रविमाथि प्रतिशोध साँधेर कानूनी उल्झनमा पारेको र जेलमा दु:ख दिएर राखेको कुरा जनताले राम्रोसँग बुझिसकेका वाग्लेले टिप्पणी गरे ।

‘रविमाथि प्रतिशोधमाथि प्रतिशोध साँधिएको छ, उस्तै उस्तै केसमा अरुलाई प्रहरीमा बोलाएर चिया खुवाएर पठाउने, १८ करोडको आरोप लागेका पूर्वप्रधानमन्त्रीलाई एक घण्टामै सफाइ दिएर ३५ लाख बुझाएर जाउ भनेर पठाइदिने तर रविलाई चाहिँ ४/५ वटा जिल्लामा हरेक जिल्लामा ३/३ वटा मुद्दा, २/२ वटा अदालत सर्वोच्च गरेर ४०/४५ वटा उल्झन अवरोध खडा गरिएको छ,’ वाग्लेले भने, ‘यद्यपि नेपालको न्यायालयप्रति अन्तिम आशा र भरोसा हामीलाई छ,अन्ततः उहाँले सफाइ पाउनुहुन्छ भन्नेमा विश्वस्त छौं ।’

वाग्लेले करोडौं धरौटी लिएपछि बाहिर बसेर पनि मुद्दा लड्न दिनुपर्नेमा सरकार पहिल्यै त्रसित भएर रविलाई थुनामा राखेर दु:ख दिएको बताए । ‘टिनको छानामुनि भैरहवाको ४२ डिग्री गर्मीमा पिल्साएर दु:ख दिएको छ, उहाँलाई एक घण्टा भेटेँ, तर उहाँ उच्च मनोबलमा हुनुहुन्छ,’ वाग्लेले भने, ‘सरकारले दिएको दु:ख देखेर रविप्रति सहानुभूतिको लहर थामिनसक्नु छ, हामी बलियो नभई उनीहरू गल्ने वाला छैनन् ।’ 

रविमाथि षड्यन्त्र गर्नेहरू आफैं ३५ वर्षदेखि सरकारमा रहेर रजगज गर्ने बद्‌नाम पात्रहरू रहेको उल्लेख गर्दै वाग्लेले यो सबै कुरा जनताले बुझिसकेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्