
पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा खेपेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल पार्टी अध्यक्ष पद नछाड्ने भएका छन् ।
शुक्रबार बसेको सचिवालय बैठकले नेपालले सफाइ पाउने निष्कर्षसहित अध्यक्ष पद छाड्न नहुने निष्कर्ष निकालेको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए ।
पार्टीविरुद्धको षड्यन्त्रस्वरूप भ्रष्टाचार मुद्दा लगाइएको जिकिर गर्दै ज्वालाले नेपालले सफाइ पाउने दाबी गरे । बैठकले नेपालले पार्टी अध्यक्ष छाड्नु पर्ने निष्कर्ष निकालेको उनले बताए ।
पतञ्जली जग्गा विवादमा अख्तियारले नेपालविरुद्ध जेठ २२ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको सांसद पन निलम्बनमा परेको छ । तर, पार्टी अध्यक्षबाट नेपालले राजीनामा दिएका छैनन् ।
बैठकमा अध्यक्ष नेपालले अख्तियारले तामेलीमा राखेको फाइल एकाएक ब्यूँताएको बताएका थिए ।
बुधबार मात्र विशेष अदालतले नेता नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।