
राजधानीको पुरानो बसपार्क क्षेत्रस्थित ‘काठमाडौं भ्यू टावर’ निर्माणमा संलग्न रहेका व्यवसायी मनोज कुमार भेटवाललाई बैंकिङ कसुर मुद्दामा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार भेटवाललाई राज कुमार बरालको जाहेरीका आधारमा वादी नेपाल सरकार र प्रतिवादी भेटवाल रहेको बैंकिङ कसुरसम्बन्धी मुद्दाको सिलसिलामा शुक्रबार काठमाडौं महानगरपालिका–२९ बाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार भेटवालको स्थायी ठेगाना काठमाडौं महानगरपालिका–३२ रहेको र हाल बुढानिलकण्ठ नगरपालिका–४ मा बसोबास गर्दै आएका उनले बैंकिङ कारोबारमा अनियमितता गरेको आरोप छ।
हाल उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।
प्रहरी परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक अपील राज बोहराका अनुसार भेटवालविरुद्धको अनुसन्धान अगाडि बढाइएको छ।
यसअघि पनि विभिन्न ठूला निर्माण परियोजनामा विवादित रूपमा चर्चामा आएका भेटवाल हाल ‘काठमाडौं भ्यू टावर’ निर्माण कार्यमा संलग्न प्रमुख व्यवसायीका रूपमा चिनिन्छन्।