१३ असार २०८३, शनिबार

अतिकम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्ः प्रम ओली

असार १७, २०८२
काठमाडौं
अतिकम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्ः प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अतिकम विकसित देशहरूले निष्पक्ष शर्तहरूमा अनुदान र सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका बताएका छन् । 

स्पेनको सेभियामा आयोजित विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनलाई गएराति सम्बोधन गर्दै उनले आफूहरू नियममा आधारित र समतामूलक विश्वव्यापी व्यापार प्रणालीका पक्षमा रहेको स्पष्ट पारे । यसबाट सबै देशहरूले लाभ प्राप्त गर्नसक्ने उनको भनाइ थियो । 

अतिकम विकसित देशहरूको समूहको अध्यक्षको हैसियतमा सम्बोधन गर्दै उनले एक दशकअघि ‘अदिस अबाबा’मा विश्वले अतिकम विकसित देशहरूप्रति ऐक्यबद्धता जनाउने वाचा गरेको उल्लेख गरे । उक्त प्रतिबद्धता सन् २०३० को कार्यसूचीमा पनि प्रतिविम्बित भएको जनाउँदै उनले भने, 'हामीले कसैलाई पनि पछाडि नछोड्ने वाचा गर्‍यौँ र सबैभन्दा पछाडि परेकालाई पहिले माथि उठाउने प्रतिबद्धता जनायौँ । दश वर्षपछि विश्वले प्रगति गरिरहेको छ ।'

यस अवधिमा विश्वको कूल गार्हस्थ्य उत्पादन बढेर लगभग ७५ ट्रिलियनबाट ११५ ट्रिलियन पुगेको जनाउँदै प्रधानमन्त्री ओलीले कतिपय राष्ट्रहरूबीच र राष्ट्रभित्रै असमानता बढिरहेको उल्लेख गरे । 
जुन समयमा ऐक्यबद्धताको सबैभन्दा बढी आवश्यकता छ, त्यहीबेला आधिकारिक विकास सहायता (ओडिए) घटिरहेको उनले बताए । 

ऋणले दक्षिणी गोलार्ध निसास्सिएको र विशेषगरी अतिकम विकसित देशहरूको ऋण पछिल्लो दशकमा तीनगुणाले बढेको उनले जानकारी गराए । प्रधानमन्त्री ओलीले भने, 'व्यापार खण्डित छ । वृद्धि असमान छ । लगानी कमजोर छ र गरिबी यथावत छ । विकसित देशमा प्रविधि र नवप्रवर्तनले तीव्र गतिमा फड्को मारिरहेको छ । तर अतिकम विकसित देशहरूले भने गहिरो प्राविधिक र डिजिटल खाडलको सामना गरिरहेका छन्,' उनले भने । 

प्रधानमन्त्री ओलीले कमजोर र अपर्याप्त पूर्वाधारले अतिकम विकसित मुलुकको सम्भावनालाई निरन्तर बाधा पुर्‍याइरहेको बताउँदै विश्वव्यापी विकास मञ्चमा, अतिकम विकसित देशहरू सीमान्तकृत हुनुका साथै आवाज उचित रूपमा सुनुवाइ नभएको उल्लेख गरे । 'जलवायु परिवर्तनले अतिकम विकसित देशहरूलाई सबैभन्दा बढी असर गरिरहेको छ, यद्यपि उनीहरूले एक प्रतिशतभन्दा कम हरितगृह ग्यास उत्सर्जन गर्छन् । ‘अदिस अबाबा’पछि केबल चार वटा अतिकम विकसित देशहरू मात्र स्तरोन्नति भएका छन्,' उनले भने ।

यसैगरी, प्रधानमन्त्री ओलीले विश्वव्यापी आर्थिक र वित्तीय प्रणालीमा न्याय र निष्पक्षताका लागि आह्वान गरे । अल्पविकसित देशहरूको समूहका तर्फबाट आवाज प्रस्तुत गर्दै धनी र विकसित मुलुकले आफूले विश्वकासामु गरेका प्रतिबद्धता प्रभावकारी कार्यान्वयनका लागि जोड दिए । 'विकासशील देशहरू तथा विशेषगरी अल्पविकसित देशहरूले यसको पूर्ण कार्यान्वयनका लागि सद्भाव र उच्च मनोबलका साथ जोडदार रूपमा आग्रह गर्छन् । यस सन्दर्भमा, हामी विश्वव्यापी आर्थिक र वित्तीय प्रणालीमा न्याय र निष्पक्षताका लागि आह्वान गर्दछौँ,' प्रधानमन्त्री ओलीले भने, 'हामी विश्वव्यापी वित्तीय संरचनाको सुधारका पक्षमा छौँ । हामी हाम्रा विकास साझेदारलाई विकासशील देशलाई शून्य दशमलव सात प्रतिशत आधिकारिक विकास सहायता (ओडिए) प्रतिबद्धता प्रदान गर्न र अल्पविकसित देशका लागि शून्य दशमलव दुई प्रतिशतभन्दा बढी पूरा गर्न आग्रह गर्दछौँ ।' रासस

salt training

कमेन्ट गर्नुहोस्