
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निजामती सेवा विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु सामान्य घटना नभई सार्वभौम संसद्प्रति गरिएको अपमान भएको टिप्पणी गरेका छन् ।
मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले उक्त कार्य देश र जनताप्रति गरिएको घोर अपराधसमेत भएको बताएका हुन् ।
कुलिङ पिरियड नराखी विधेयक अगाडि बढ्न नहुने उनको भनाइ छ । 'सर्वसम्मतिबाट संसद्मा पेस भएको निजामती सेवा विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु, गराइनु कुनै सामान्य घटना नभई, देश र जनताप्रति गरिएको घोर अपराध र सार्वभौम संसद्प्रति गरिएको अपमान हो,' उनले लेखेका छन्, 'यस प्रकारणमा जोडिएकालाई तुरुन्त हदै सम्मको कारवाही अगाडि बढाई, परिवर्तन गरिएको व्यवस्थालाई आजै पुरानै अवस्थामा लैजाउँ । कुलिङ पिरियड नराखी यस विधेयकका अगाडिका काम कारवाही अगाडि बढ्नु हुँदैन र बढ्दैन ।
कर्मचारीले अवकाश वा राजीनामा दिएको दुई वर्षसम्म संवैधानिक, कूटनीतिक वा सरकारले गर्ने अन्य कुनै नियुक्ति खान नपाउने कानुनमै व्यवस्था गर्न संसद्को राज्य व्यवस्था समितिमा सर्वसम्मति भएको थियो । तर, प्रतिनिधि सभाबाट पारित हुँदा भने बाहेक शब्द थपेर अवकाशपछि नियुक्ति खाने बाटो खुला गरिएपछि अहिले विरोध भैरहेको छ ।