
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । सानेपास्थित केन्द्रीय कार्यालयमा सोमबारदेखि शुरू भएको बैठकमा आज तय भएका एजेन्डामा छलफल हुने छ ।
बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी छ ।
बैठकमा १०० दिने अभियानका प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन र प्रतिष्ठानको प्रतिवेदन, अनुशासन समितिको प्रतिवेदन, क्रियाशील सदस्यता नवीकरण प्रगति विवरणलगायत विषयमा छलफल हुँदैछ ।
यस्तै, शुभेच्छुक संस्थाबारे छलफल, कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन, जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका पारित गर्ने सम्बन्धमा र संसद् तथा सरकारमा पार्टीको भूमिकाको प्रभावकारिता, समसामयिक विषयलगायत विविध एजेन्डामा छलफल जारी रहेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा पार्टी उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले प्रतिष्ठानको निर्देशिका संशोधनसम्बन्धी प्रस्ताव र प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत गरेका थिए।
यस्तै, महामन्त्री गगन थापाले बैठकका एजेण्डा प्रस्तुत गर्नुका साथै क्रियाशील सदस्यता नवीकरण प्रगति विवरण सम्बन्धमा बैठकलाई जानकारी गराएका थिए।