१६ असार २०८३, मंगलबार
अर्को सहकारी ठगी प्रकरण

सुमार्ग सहकारी ठगी : ९ जनाविरुद्ध साढे ५ करोड बिगो, अध्यक्षसहित सबै प्रतिवादी फरार

असार १७, २०८२
काठमाडौं
सुमार्ग सहकारी ठगी : ९ जनाविरुद्ध साढे ५ करोड बिगो, अध्यक्षसहित सबै प्रतिवादी फरार

भक्तपुरको सूर्यविनायकमा सञ्चालित सुमार्ग बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित ९ जनाविरुद्ध सहकारी ठगी मुद्दा दर्ता भएको छ ।

बचतकर्ता विष्णुहरि रञ्जितकारसहित ६५ जनाले जाहेरी दिएपछि लामो अनुसन्धानपश्चात जिल्ला सरकारी वकिलको कार्यालय भक्तपुरले गत शुक्रबार जिल्ला अदालत भक्तपुरमा मुद्दा दर्ता गरेको हो ।

अभियोगपत्रमा सहकारीका अध्यक्ष गणेशबहादुर कार्की, उपाध्यक्ष मीनबहादुर कार्की, सचिव कृष्णबहादुर कार्की, सञ्चालक समिति सदस्य दीपक न्यौपाने, पूर्व अध्यक्ष ध्रुवबहादुर सिलवाल, लेखा संयोजक रविना ख्याजु, लेखा समिति सदस्य मिलन सिलवाल र विकास कोजुगरी ९ जनालाई प्रतिवादी बनाइएको छ । प्रतिवादीहरूबाट ५ करोड ५५ लाख ७३ हजार ८ सय ४० रुपैयाँ बिगो मागदाबी लिइएको छ ।

बचतकर्तामध्येका सूर्यविनायकका बालकृष्ण शाहीले आफू र परिवारले उक्त सहकारीमा जम्मा गरेको एक करोड ८३ लाख ९९ हजार ४ सय ४३ रुपैयाँ फिर्ता नपाएपछि प्रहरीमा जाहेरी दिएका थिए ।

आकर्षक ब्याज दिने प्रलोभन देखाएर सहकारीको रकम जम्मा गरेको तर, पटक–पटक बचत फिर्ताको माग गर्दा नदिएपछि प्रहरीमा जाहेरी दिएको शाहीले अभियोगपत्रमा खुलाएका छन् ।

‘आकर्षक ब्याज दिने भनेर सहकारीका अध्यक्ष गणेशबहादुर कार्कीसहितले सहकारीमा रकम जम्मा गर्न लगाए,’ शाहीले भनेका छन्, ‘बचत रकम फिर्ता ल्याऊ भन्दा नदिएपछि प्रहरीमा जाहेरी दिएको हुँ, सञ्चालक समितिका पदाधिकारीलाई पक्राउ गरी कारबाही गरेर बचत फिर्ता पाऊँ ।’

सहकारीका अध्यक्ष कार्कीसहित ९ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता भएपनि उनीहरू सबै फरार छन् ।

बचतकर्तामध्येका विष्णुहरि रञ्जितकारका अनुसार उनले सहकारीमा पटक–पटक आफैं उपस्थित भएर बचत फिर्ता माग्दा पनि अध्यक्ष कार्कीले रकम फिर्ता दिएनन् । रञ्जितकारले हुलाकमार्फत समेत बचत फिर्ताको पहल गर्न अध्यक्ष कार्कीलाई पत्र पठाउँदा समेत व्यवास्ता गरेका थिए ।

‘खाईनखाई दु:ख गरेर कमाएको पैसा सहकारीमा जम्मा गरें, बचत फिर्ता माग्दा सहकारीका अध्यक्ष कार्की सम्पर्कमै आउन चाहेनन्,’ रञ्जितकारले जाहेरीमा भनेका छन्, ‘बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारी सञ्चालक समितिका सबै पदाधिकारीलाई कारबाही गरी बचत रकम फिर्ता पाऊँ ।’

आर्थिक वर्ष २०५५/०५६ मा भक्तपुरको साविक कटुञ्जेमा सञ्चालित सुमार्ग बचत तथा ऋण सहकारी संस्था २०७९ देखि नै धरासायी हुँदै गएको देखिन्छ ।

सरकारी वकिलको कार्यालय भक्तपुरले उक्त सहकारीमै कार्यरत पूर्व कर्मचारी सन्ध्या थापासँग घटना विवरण काजग गरेको थियो । सन्ध्याले उक्त सहकारी २०७९ देखि नै धरासयी बन्दै गएको उल्लेख गरेकी छिन् ।

उक्त सहकारीमा सन्ध्या र उनको परिवारको नाममा १२ लाख जम्मा भएको थियो । उक्त रकम समेत उनले नपाएको कुरा घटना विवरण कागजमा उल्लेख गरेकी छिन् । ‘जतिबेला म कार्यरत थिएँ, त्यतिबेला धेरै बचतकर्ताहरू बचत फिर्ताको माग राख्दै कार्यालय आउँथे, समयमा तलब समेत नपाउने अवस्था देखिएपछि २०८० असारदेखि सहकारीमा काम गर्न छाडेँ,’ सन्ध्याले घटना विवरण कागजमा भनेकी छिन्, ‘सहकारी समस्यामा आएदेखि नै बचतकर्ताले बचतफिर्ता र सञ्चालक समितिका पदाधिकारीमाथि कारबाहीको माग गरेर जाहेरी दिएको हुनुपर्छ । बचतकर्ताको सबै रकम फिर्ता हुनुपर्छ ।’

२०७५ मै सहकारीका बचतकर्ता सदस्य २ हजार पुगिसकेका थिए । शुरूमा आर्थिक कारोबार राम्रै गरेको यो सहकारीका अध्यक्ष गणेशबहादुर कार्की र ध्रुवबहादुर सिलवालले सहकारीमा बचत भएको रकमबाट व्यक्तिगत रूपमा घरजग्गा खरिद गरेपछि समस्या आएको देखिन्छ ।

२०६९ मा सहकारीको नगद शाखामा कार्यरत कर्मचारी नयना अमात्यले गरेको घटना विवरण कागजअनुसार सहकारीको घर नै कार्की र सिलवालको नाममा थियो ।

नयनाका अनुसार उनी र अन्य कर्मचारीले कार्की र सिलवाललाई सहकारीको अनियमितताबारे छानबिन गर्न आग्रह गर्दा पनि उनीहरूले बेवास्ता गरेका थिए ।

कार्की र सिलवालले चिनजानका व्यक्तिका नाममा कमसल धितोमा पनि धेरै ऋण प्रवाह गरेका थिए ।

प्रतिवादी बनाइएका सहकारीका तत्कालीन अध्यक्षद्वय कार्की र सिलवालले व्यक्तिगत र श्रीमतीका नाममा समेत जग्गा खरिद गरेको भेटिएपछि उक्त जग्गा रोक्का गरिएको छ ।

सहकारीले खाता खोलेका बैंकहरू क्रमश: गरिमा विकास बैंक, प्रभु बैंक, मुक्तिनाथ विकास बैंक, सानिमा बैंक, ग्लोबल आइएमई बैंक, राष्ट्रिय सहकारी बैंक, एनआईसी एसिया बैंक, कुमारी बैंक र हिमालयन बैंकमा हालजम्मा करिब ८८ हजार रुपैयाँ मात्रै मौज्जाद देखिन्छ ।

बाँकी रकम सहकारीका पदाधिकारीहरूले नै झिकेर हिनामिना गरेको अनुसन्धानबाट देखिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्