
राष्ट्रियसभा सदस्य डाक्टर अन्जान शाक्यले कृषि क्षेत्र हरेक नेपालीको भान्सा र भविष्यसँग जोडिएकाले परम्परागत प्रविधि नभई आधुनिक प्रविधिको विकासमा जोड दिनुपर्ने बताएकी छिन् ।
विनियोजन विधेयक २०८२ का विभिन्न शीर्षकमाथि आजको छलफलमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । ‘कृषि क्षेत्र एउटा यस्तो विशाल सम्भावनाको खानी हो । जहाँ हामीले वैज्ञानिक, किसान, उद्यमी र युवाहरूका लागि लाखौं रोजगारी सिर्जना गर्न सक्छौं । यसको एउटै मात्र बाटो भने कृषिमा आधुनिकीकरण र विशिष्टीकरण हो,’ उनले भनिन्, ‘यसका लागि मैले विगतमा पनि यसै भन्दै आएको छु । नेपालमा अब एउटा ‘उत्कृष्ट कृषि केन्द्र’को स्थापना गरिनुपर्छ । यो केन्द्र केवल एउटा भवन हुनेछैन । यो ज्ञान, विज्ञान, प्रविधि र उद्यमशीलताको त्रिवेणी हुनेछ जहाँ हाम्रा वैज्ञानिकले अनुसन्धान गर्नेछन् । नयाँ अवसर पाउनेछन् र किसानले आधुनिक प्रविधि सिक्नेछन् । यो कृषि केन्द्रको अवधारणालाई राष्ट्रिय गौरवको आयोजनामा परिणत गरियोस् र यसका लागि आवश्यक बजेट तत्काल विनियोजन गरियोस् ।’
त्यसको प्रतिफल सिधै नागरिकको जीवनस्तर सुधारमा देखिने र देशलाई आत्मनिर्भर बनाउने पनि उनले बताइन् । त्यसका लागि विद्यालय तहदेखिनै विद्यार्थीलाई खेतिपाती र उद्यमशीलतामा आकर्षित गर्नुपर्नेमा उनले जोड दिइन् । ‘बजेटको अंक गणितले स्पष्ट रूपमा आवश्यकता र औचित्यको समानुपातिक वितरणको सिद्धान्त भन्दा पहुँच हावी भएको जस्तो देखिएको छ,’ शाक्यले भनिन्, ‘सरकार तथा सरकारी निकायमा बस्ने जिम्मेवार महानुभावहरूले आफ्नो व्यक्तिगत गाउँ–ठाउँ वा निर्वाचन क्षेत्रको मोहभन्दा माथि उठेर समग्र मुलुकको आवश्यकता र प्राथमिकतालाई मध्यनजर गर्नुपर्ने हुन्छ ।’
डाक्टर शाक्यले सबै क्षेत्रको सन्तुलित विकासका लागि अलिकति उदार सोच राखेर बजेट विनियोजन गरिएको भए त्यो साँच्चिकै सुनमा सुगन्ध हुने बताइन् ।