२८ जेठ २०८३, बिहीबार

दुर्गाबाबु पाठक स्मृति संगीत पुरस्कार पौडेललाई

असार १७, २०८२
काठमाडौं
दुर्गाबाबु पाठक स्मृति संगीत पुरस्कार पौडेललाई

सशस्त्र प्रहरी बल (एपीएफ)का निरीक्षक स्व. दुर्गाबाबु पाठकको स्मृतिमा स्थापित ‘दुर्गाबाबु पाठक स्मृति संगीत पुरस्कार’ नेपाल एपीएफ ठाकोदेवी जोगेन्द्र भगत स्कूल शम्भुनाथ सप्तरीमा अध्ययनरत कक्षा ८ का छात्र प्रज्वल पौडेललाई प्रदान गरिएको छ ।

सशस्त्र प्रहरी परिवार महिला संघको २४औं वार्षिकोत्सवको अवसर पारेर मंगलबार सशस्त्र पहरी नायब उपरीक्षक एवं सहप्रवक्ता शैलेन्द्र थापाले पौडेललाई पुरस्कार प्रदान गरेका हुन् ।​

​प्रज्वल संगीत विधातर्फ वाद्यवादन र गायनमा उत्कृष्ट ठहरिएका छन् ।

यसअघिका वर्षहरूमा सो पुरस्कार नेपाल एपीएफ स्कूल कीर्तिपुरका छात्रहरू रायन घिमिरे, आशिष रोकाया, साइजित पाण्डे, अनिश थापा मगर र अर्जुन झालाई प्रदान गरिएको थियो ।​​

स्व. पाठकको स्मृतिमा सि.सं. ७ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमका सहकर्मी अधिकृतहरूद्वारा सामूहिक रूपमा २०७३ सालमा अक्षयकोष स्थापना गरिएको थियो । कोषमा जम्मा भएको रकमको ब्याजबाट हरेक वर्ष सशस्त्र प्रहरी परिवार महिला संघको वार्षिकोत्सवमा सो पुरस्कार नेपाल एपीएफ स्कूलमा अध्ययनरत संगीततर्फ प्रथम हुने छात्र तथा छात्रालाई प्रदान गरिँदै आएको छ ।

२०६४ सालमा खुल्ला प्रतिस्पर्धाबाट सशस्त्र प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका स्व. पाठकले ‘पक्षी र निन्द्रा लाग्दैन’ गरी दुई वटा एल्बम बजारमा ल्याएका थिए ।

गीत संगीतमा रुचि राख्ने पाठक २०६०/२०६१ सालमा चितवनमा सम्पन्न सिनर्जी राइजिङ स्टारको उत्कृष्ट १० भित्र पर्न सफल भएका थिए भने आठौँ कालिका म्युजिक अवार्डमा बेष्ट आर्टिस्टको उपाधिसमेत हात पारेका थिए ।

गीत लेख्ने, संगीत दिने र आफैं गाउनेसमेत क्षमता भएका स्व. पाठकको प्रतिभालाई अमर राख्नका लागि उक्त अक्षयकोष स्थापना गरिएको हो ।

कर्तव्य पालनाको सिलसिलामा २०७२ चैत २८ गते धादिङको मलेखुमा भएको सडक दुर्घटनामा उनको निधन भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्