
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पार्टीका मन्त्री र सांसदहरूको भूमिकाबारे गम्भीर प्रश्न उठेको छ । मंगलबार दोस्रो दिन पनि जारी केन्द्रीय समितिको बैठकमा सदस्यहरूले काम गर्न नसक्ने मन्त्रीहरूलाई कामकाजी बनाउन आग्रह गरे ।
त्यस्तै, पार्टीको अनुशासन र मर्यादा बाहिर गएर सांसदहरू छाडा भएको भन्दै पनि प्रश्न उठाइएका छन् । पार्टी अनुशासनभन्दा बाहिर गएर प्रश्न र लाञ्छना लगाउनेहरू हावी भएको भन्दै उनीहरूमाथि लगाम लगाउन सदस्यहरूले नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।
००००
सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बुधबार बस्दै छ । बिहान सवा ११ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकहरूमध्ये राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयसहित विभिन्न मन्त्रालयको छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।
००००
‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ ।
सभाको मंगलबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए । सभाअध्यक्ष नारायणप्रसाद दाहालले उक्त प्रस्ताव सभामा पेस गर्दा सर्वसम्मतिले पारित भएको हो ।
००००
मुख्यसचिव एकनारायण अर्यालले मंगलबार वैदेशिक रोजगार विभाग, राहदानी विभाग र उद्योग विभागको छड्के अनुगमन गरेका छन् ।
सेवा प्रवाह, सुशासनको अवस्था र नागरिकका गुनासोबारे स्थलगत अवलोकन गर्दै उनले सेवाग्राहीहरूसँग प्रत्यक्ष संवाद गर्नुका साथै समस्या र अनुभवबारे जानकारी लिए।
००००
गत जेठ १५ देखि यही असार १६ गतेसम्म ६७४ वटा मनसुनजन्य विपद्का घटना भएका छन् ।
ती घटनामा ३१ जनाको मृत्यु भएको छ भने ११२ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा पहिरोका ८७ घटनामा २५ घरमा आंशिक र ११ घरमा पूर्ण क्षति भएको छ ।
००००
मूल्य अभिवृद्धि कर (भ्याट) छलीको आरोपमा विराटनगरका एक व्यवसायी कारागार चलान भएका छन् ।
आन्तरिक राजस्व कार्यालय, विराटनगरले १ अर्ब ३१ करोड ६४ लाख रुपैयाँभन्दा बढीको राजस्व छली गरेको आरोपमा ‘न्यू सौरभ ट्रेडिङ्ग–बियानी एन्ड ब्रदर्स हार्डवेयर एन्ड मार्वल’का प्रोप्राइटर सौरभकुमार बियानीलाई थुनामा पठाएको हो ।
००००
नायिका एवं चलचित्र निर्माता रेखा थापाले गृहमन्त्री रमेश लेखकलाई भेटेकी छिन् ।
आमाको नामबाट नागरिकता पाउने व्यवस्था ऐनमा समेटिएको भन्दै थापाले मंगलबार गृहमन्त्री लेखकलाई धन्यवाद ज्ञापन गर्न मन्त्रालयमा पुगेर भेटेकी हुन् ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २८ दशमलव ९१ अङ्कले बढेको छ ।
एक दशमलव ०९ प्रतिशतको वृद्धिपछि नेप्से परिसूचक दुई हजार ६६० दशमलव ३९ अङ्कमा कायम भएको हो ।
००००
भक्तपुरको सूर्यविनायकमा सञ्चालित सुमार्ग बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित ९ जनाविरुद्ध सहकारी ठगी मुद्दा दर्ता भएको छ ।
बचतकर्ता विष्णुहरि रञ्जितकारसहित ६५ जनाले जाहेरी दिएपछि लामो अनुसन्धानपश्चात जिल्ला सरकारी वकिलको कार्यालय भक्तपुरले गत शुक्रबार जिल्ला अदालत भक्तपुरमा मुद्दा दर्ता गरेको हो ।
००००
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताएका छन् । योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको केन्द्रीय पदाधिकारी बैठकलाई मंगलबार पेरिसडाँडामा सम्बोधन गर्दै उनले विधेयकमा चलखेल र छेडखानी गर्ने प्रवृत्तिलाई छुट दिन नसकिने भन्दै छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने बताए ।
यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पनि संघीय निजामती विधेयक पारित गर्ने क्रममा षडयन्त्र भएको बताएका छन् । यसको छानबिन आवश्यक रहेको र दोषी देखिए आफू कारबाहीका लागि तयार रहेको उनले बताए ।
२ वर्ष कुलिङ पिरियडको व्यवस्थामा कर्मचारीलाई अनुकुल हुनेगरी ‘बाहेक’ शब्द थपिएपछि हंगामा भएको हो । सभामुखले यसबारे छानबिन गर्न निर्देशन दिएका छन् । तर, यसबारे अहिलेसम्म न छानबिन समिति बनेको छ न त कमजोरी गर्नेको पहिचान नै भएको छ । बरु एकअर्कालाई आरोप लगाउने प्रवृत्ति देखिन्छ ।
००००
संघीय निजामती विधेयकमा छेडखानीको आरोप लागेपछि सभापति रामहरि खतिवडाले मंगलबारका लागि बोलाएको राज्य व्यवस्था तथा सुशासन समिति बैठक स्थगित गरेका छन् । प्रहरी विधेयकमाथि छलफल गर्न मंगलबार ११ बजेका लागि बैठक बोलाइएको थियो ।
००००
लगातार चौथो जीतसँगै नेपाली टोली समूह विजेताका रूपमा मलेसियामा जारी एसीसी पुरुष यू–१६ इष्ट जोन कप–२०२५ प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नेपालले मंगलबार खेलेको आफ्नो चौथो खेलमा भुटानलाई २ सय ९८ रनको सजिलो जीत हासिल गर्यो ।