नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले ‘समाज रूपान्तरणमा संगीत, नृत्य र नाट्यकर्मी महिला’ विषयक अन्तर्क्रिया तथा गोष्ठी सम्पन्न भएको छ ।
नक्सालस्थित प्रतिष्ठानको सभाकक्षमा आयोजित उक्त कार्यक्रमको उद्घाटन सङ्घीय संसद्की उपसभामुख इन्दिरा रानाले पानसमा दीप प्रज्वलन सहित गरेकी थिइन् ।
कार्यक्रममा संगीत, नृत्य र नाट्य क्षेत्रका महिलाहरूको समाज रूपान्तरणमा रहेको भूमिकाका बारेमा तीनवटा महत्त्वपूर्ण कार्यपत्र प्रस्तुत गरिएका थिए।
उपसभामुख रानाले कार्यक्रमलाई सम्बोधन गर्दै, नेपालको सामाजिक रूपान्तरणमा महिला र पुरुष दुवैको समान योगदान रहेको उल्लेख गरिन् ।
कुनै समय महिलाहरूलाई नाच्न, गाउन वा हाँस्न पनि निषेध गरिएको अवस्थाबाट आजको खुला वातावरणसम्म आइपुग्नुमा महिला कलाकर्मीहरूको उल्लेखनीय योगदान रहेको विचार व्यक्त गरिन् । उनले कलाका माध्यमबाट चेतना अभिवृद्धि गर्दै सामाजिक रूपान्तरणको यात्रामा महिला कलाकर्मीहरू सामूहिक रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याइन् ।
कार्यक्रमका विशेष अतिथि प्रतिनिधिसभा सदस्य पूर्ण घर्तीले यस्तो अन्तर्क्रियाले विचारको संश्लेषण मात्र नभई इतिहासको अभिलेखीकरणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।
उनले हरेक राजनीतिक आन्दोलनमा कलाकर्मीहरूको सक्रिय सहभागिता रहेको चर्चा गर्दै त्यस्तो योगदानलाई नकार्ने प्रयास भए पनि इतिहास अन्ततः उजागर हुने धारणा राखे ।
कार्यक्रमका परिकल्पनाकार तथा संयोजक, प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव कुश्मा महरा ‘प्रगति’ले समाज रूपान्तरणमा योगदान पुर्याएका संस्कृतिकर्मीहरूको सम्मान, खोज तथा मूल्याङ्कन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै नृत्य विभाग प्रमुख प्राज्ञ बखतबहादुर हमालले प्रज्ञा–प्रतिष्ठानले प्रस्तुत कार्यपत्र तथा सुझावलाई पुँजीका रूपमा लिएर आगामी दिनमा अझ गम्भीर रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
गोष्ठीमा विभिन्न विषयमा कार्यपत्रहरू प्रस्तुत गरिएका थिए।
डा. विन्दु शर्माले ‘समाज रूपान्तरणमा नाट्यकर्मी महिलाको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गरिन् । उनले मुक्तिको चेतनाविना नाटकमा प्रस्तुत महिला पात्रहरूको सक्रियता जमिनविनाको उडान सरह हुने विचार व्यक्त गरिन् ।
कार्यपत्रमाथि त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक डा. अशोक थापाले टिप्पणी गर्दै नेपाली नाटकमा अन्य भाषाभाषी र आदिवासी समुदायका लोकनाटकहरू समावेश गर्नुपर्ने र नेपालका राजनीतिक परिवर्तनहरूले नाट्यकला तथा महिलामा पार्ने प्रभावको गहिरो विश्लेषण आवश्यक रहेको सुझाए ।
त्यसैगरी, कल्पना राजचल श्रेष्ठले नृत्यकर्मी महिलाहरूको समाज रूपान्तरणमा रहेको भूमिकाका विषयमा कार्यपत्र प्रस्तुत गरिन् ।
उनले वि.सं. २००७ सालपछि लैङ्गिक विमर्श शुरू भएको र २०४६ सालपछिको खुला वातावरणमा महिला नृत्यकर्मीहरूको संलग्नता बढ्दै गएको उल्लेख गरिन् ।
कार्यपत्रमाथि टिप्पणी गर्दै नृत्यविज्ञ डा. लोकनाथ दुलालले वैज्ञानिक र अनुसन्धान–आधारित कार्यपत्र आवश्यक रहेको बताउँदै महिला नृत्यकर्मीहरूले समतामूलक समाज निर्माण, समावेशी प्रतिनिधित्व, निर्णय प्रक्रियामा सहभागिता, आर्थिक–शैक्षिक सशक्तीकरण तथा राजनीतिक भूमिकामा कस्तो योगदान दिएका छन् भन्ने विषयलाई विश्लेषण गर्नुपर्ने सुझाव दिए ।
वरिष्ठ गायिका सीता आचार्यले संगीतकर्मी महिलाको भूमिकाबारे कार्यपत्र प्रस्तुत गर्दै नेपाली संगीतमा तीनवटा धाराहरू—पुँजीवादी, सुधारवादी र प्रगतिवादी—गतिशील रहेको बताइन् ।
उनले प्रगतिवादी धारामा सक्रिय महिला संगीतकर्मीहरूले समाज रूपान्तरणमा विशेष योगदान पुर्याएको उल्लेख गरिन् ।
कार्यपत्रमाथि टिप्पणी गर्दै संस्कृतिकर्मी हेमराज आश्रमले कार्यपत्र प्रगतिवादी दृष्टिकोणमा आधारित भए तापनि निष्पक्षता र समग्र मूल्याङ्कनको सन्दर्भमा प्रश्न उठ्न सक्ने टिप्पणी गरे ।
कार्यक्रममा नृत्यविद् भावना कार्की, नाट्यविद् प्रवीण पुमा, विक्रम मैनाली, जनसांस्कृतिक महासङ्घका अध्यक्ष भीम कुमाखी, वरिष्ठ नाट्य निर्देशक वीरेन्द्र हमाल, नाट्यकलाकार रिमा रिमाललगायतले महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रमका अध्यक्ष तथा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भू राईले सबैको सक्रिय सहभागिताले अन्तर्क्रिया अत्यन्त फलदायी बनेको बताउँदै कार्यपत्र प्रस्तुत गर्ने, टिप्पणी राख्ने, सुझाव दिने र सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।