२६ असार २०८३, शुक्रबार

संगीत तथा नाट्य प्रतिष्ठानमा समाज रूपान्तरणमा महिला कलाकर्मीको भूमिकाबारे विमर्श

असार १८, २०८२
काठमाडौं
संगीत तथा नाट्य प्रतिष्ठानमा समाज रूपान्तरणमा महिला कलाकर्मीको भूमिकाबारे विमर्श

नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले ‘समाज रूपान्तरणमा संगीत, नृत्य र नाट्यकर्मी महिला’ विषयक अन्तर्क्रिया तथा गोष्ठी सम्पन्न भएको छ ।

नक्सालस्थित प्रतिष्ठानको सभाकक्षमा आयोजित उक्त कार्यक्रमको उद्घाटन सङ्घीय संसद्‌की उपसभामुख इन्दिरा रानाले पानसमा दीप प्रज्वलन सहित गरेकी थिइन् ।

कार्यक्रममा संगीत, नृत्य र नाट्य क्षेत्रका महिलाहरूको समाज रूपान्तरणमा रहेको भूमिकाका बारेमा तीनवटा महत्त्वपूर्ण कार्यपत्र प्रस्तुत गरिएका थिए।

उपसभामुख रानाले कार्यक्रमलाई सम्बोधन गर्दै, नेपालको सामाजिक रूपान्तरणमा महिला र पुरुष दुवैको समान योगदान रहेको उल्लेख गरिन् ।

कुनै समय महिलाहरूलाई नाच्न, गाउन वा हाँस्न पनि निषेध गरिएको अवस्थाबाट आजको खुला वातावरणसम्म आइपुग्नुमा महिला कलाकर्मीहरूको उल्लेखनीय योगदान रहेको विचार व्यक्त गरिन् । उनले कलाका माध्यमबाट चेतना अभिवृद्धि गर्दै सामाजिक रूपान्तरणको यात्रामा महिला कलाकर्मीहरू सामूहिक रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याइन् ।

कार्यक्रमका विशेष अतिथि प्रतिनिधिसभा सदस्य पूर्ण घर्तीले यस्तो अन्तर्क्रियाले विचारको संश्लेषण मात्र नभई इतिहासको अभिलेखीकरणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।

उनले हरेक राजनीतिक आन्दोलनमा कलाकर्मीहरूको सक्रिय सहभागिता रहेको चर्चा गर्दै त्यस्तो योगदानलाई नकार्ने प्रयास भए पनि इतिहास अन्ततः उजागर हुने धारणा राखे ।

कार्यक्रमका परिकल्पनाकार तथा संयोजक, प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव कुश्मा महरा ‘प्रगति’ले समाज रूपान्तरणमा योगदान पुर्‍याएका संस्कृतिकर्मीहरूको सम्मान, खोज तथा मूल्याङ्कन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै नृत्य विभाग प्रमुख प्राज्ञ बखतबहादुर हमालले प्रज्ञा–प्रतिष्ठानले प्रस्तुत कार्यपत्र तथा सुझावलाई पुँजीका रूपमा लिएर आगामी दिनमा अझ गम्भीर रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

गोष्ठीमा विभिन्न विषयमा कार्यपत्रहरू प्रस्तुत गरिएका थिए।

डा. विन्दु शर्माले ‘समाज रूपान्तरणमा नाट्यकर्मी महिलाको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गरिन् । उनले मुक्तिको चेतनाविना नाटकमा प्रस्तुत महिला पात्रहरूको सक्रियता जमिनविनाको उडान सरह हुने विचार व्यक्त गरिन् ।

कार्यपत्रमाथि त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक डा. अशोक थापाले टिप्पणी गर्दै नेपाली नाटकमा अन्य भाषाभाषी र आदिवासी समुदायका लोकनाटकहरू समावेश गर्नुपर्ने र नेपालका राजनीतिक परिवर्तनहरूले नाट्यकला तथा महिलामा पार्ने प्रभावको गहिरो विश्लेषण आवश्यक रहेको सुझाए ।

त्यसैगरी, कल्पना राजचल श्रेष्ठले नृत्यकर्मी महिलाहरूको समाज रूपान्तरणमा रहेको भूमिकाका विषयमा कार्यपत्र प्रस्तुत गरिन् ।

उनले वि.सं. २००७ सालपछि लैङ्गिक विमर्श शुरू भएको र २०४६ सालपछिको खुला वातावरणमा महिला नृत्यकर्मीहरूको संलग्नता बढ्दै गएको उल्लेख गरिन् ।

कार्यपत्रमाथि टिप्पणी गर्दै नृत्यविज्ञ डा. लोकनाथ दुलालले वैज्ञानिक र अनुसन्धान–आधारित कार्यपत्र आवश्यक रहेको बताउँदै महिला नृत्यकर्मीहरूले समतामूलक समाज निर्माण, समावेशी प्रतिनिधित्व, निर्णय प्रक्रियामा सहभागिता, आर्थिक–शैक्षिक सशक्तीकरण तथा राजनीतिक भूमिकामा कस्तो योगदान दिएका छन् भन्ने विषयलाई विश्लेषण गर्नुपर्ने सुझाव दिए ।

वरिष्ठ गायिका सीता आचार्यले संगीतकर्मी महिलाको भूमिकाबारे कार्यपत्र प्रस्तुत गर्दै नेपाली संगीतमा तीनवटा धाराहरू—पुँजीवादी, सुधारवादी र प्रगतिवादी—गतिशील रहेको बताइन् ।

उनले प्रगतिवादी धारामा सक्रिय महिला संगीतकर्मीहरूले समाज रूपान्तरणमा विशेष योगदान पुर्‍याएको उल्लेख गरिन् ।

कार्यपत्रमाथि टिप्पणी गर्दै संस्कृतिकर्मी हेमराज आश्रमले कार्यपत्र प्रगतिवादी दृष्टिकोणमा आधारित भए तापनि निष्पक्षता र समग्र मूल्याङ्कनको सन्दर्भमा प्रश्न उठ्न सक्ने टिप्पणी गरे ।

कार्यक्रममा नृत्यविद् भावना कार्की, नाट्यविद् प्रवीण पुमा, विक्रम मैनाली, जनसांस्कृतिक महासङ्घका अध्यक्ष भीम कुमाखी, वरिष्ठ नाट्य निर्देशक वीरेन्द्र हमाल, नाट्यकलाकार  रिमा रिमाललगायतले महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रमका अध्यक्ष तथा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भू राईले सबैको सक्रिय सहभागिताले अन्तर्क्रिया अत्यन्त फलदायी बनेको बताउँदै कार्यपत्र प्रस्तुत गर्ने, टिप्पणी राख्ने, सुझाव दिने र सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्