
भारतमा सन् २०२५ को पहिलो छ महिनामा नवीकरणीय ऊर्जा उत्पादन २४ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । यो सन् २०२२ यताकै उच्च वृद्धिदर हो ।
मुख्यतः सौर्य र पवन ऊर्जामा उल्लेख्य विस्तार भएसँगै कोइला-आधारित उत्पादनमा झण्डै ३ प्रतिशतले गिरावट आएको छ ।
रोयटर्सले भारतको केन्द्रीय ग्रिड नियामकको दैनिक लोड डिस्प्याच तथ्यांकको विश्लेषण गरेको थियो । त्यसअनुसार, जनवरीदेखि जुन २०२५ सम्म भारतको नवीकरणीय ऊर्जाको उत्पादन १३४ दशमलव ४३ अर्ब किलोवाट घण्टा पुगेको छ ।
जलविद्युत बाहेकको नवीकरणीय ऊर्जाको हिस्सा जुन महिनामा १७ प्रतिशतभन्दा बढी पुगेर कीर्तिमान कायम गरेको छ ।
कोइला अझै पनि भारतको प्रमुख विद्युत स्रोत भए पनि यो अवधिमा कोइला-आधारित उत्पादन झण्डै ३ प्रतिशतले घटेको छ ।
समग्र विद्युत उत्पादनको वृद्धिदर १ दशमलव ५ प्रतिशतमा सीमित रहेको छ । अघिल्लो वर्ष सन् २०२४ मा यो दर ५ दशमलव ८ प्रतिशत थियो ।
समयभन्दा चाँडो आएको मनसुन र मध्यम गर्मी मौसमले कोइलाको माग घटाएको हो ।
फलस्वरूप, भारतमा हाल कोइलाको भण्डारण बढेको छ भने आयातमा पनि उल्लेख्य गिरावट आएको छ । भारत चीनपछिको दोस्रो ठूलो कोइला उपभोक्ता हो ।
आईसीआरएका कर्पोरेट रेटिङ उपाध्यक्ष विक्रम भीले भारतले सन् २०२५ मा ३२ गिगावाट नवीकरणीय क्षमता थप गर्ने दाबी गरेका छन् ।
यो २०२४ मा थपिएको २८ गिगावाट भन्दा बढी हो । भारतले जनवरीदेखि मेसम्म मात्र १६ दशमलव ३ गिगावाट पवन र सौर्य ऊर्जा क्षमता थपिसकेको सरकारी तथ्यांकले देखाएको छ ।
२०२२ सम्म १७५ गिगावाट नवीकरणीय ऊर्जाको लक्ष्य पूरा गर्न असफल भएपछि भारतले अब जलविद्युत र आणविक ऊर्जासहित २०३० सम्म ५०० गिगावाट गैर-जीवाश्म इन्धन क्षमताको नयाँ लक्ष्य लिएको छ ।
अहिले भारतको गैर-जीवाश्म इन्धन क्षमता २३५ दशमलव ६ गिगावाट रहेको छ ।
एसएन्डपी ग्लोबल कमोडिटी इन्साइट्सले गरेको एक टिप्पणीमा भनिएको छ, 'हामी यो लक्ष्य हासिल गर्न सकिने विश्वास गर्छौं, तर हाम्रो आधारभूत अनुमानमा यो लक्ष्य २०३२ सम्म सारिन सक्छ ।'
उसले ग्रिड आधुनिकीकरण र ऊर्जा भण्डारणमा हुने लगानीलाई नवीकरणीय ऊर्जाको सफल समायोजनका लागि अत्यावश्यक बताएको छ ।