
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोगलगायत विभिन्न संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतले बुधबार निर्णय सुनाउँदैछ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह तथा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकूल सुवेदी सम्मिलित संवैधानिक इजलासले बुधबार ५२ पदाधिकारीको नियुक्ति सम्बन्धमा निर्णय सुनाउन लागेको हो ।
निर्णय सुनाउनु अघि सर्वोच्च संवैधानिक इजलासका न्यायाधीशहरू छलफलमा जुटेका छन् । मध्यान्हदेखि साँझ ७ बजेसम्म पनि न्यायाधीशहरू छलफलमा छन् ।
निर्णय सुन्न रिट निवेदक वकिलहरू संवैधानिक इजलासमा कुरेर बसेका छन् ।
यसअघि जेठ २८ गते हुने भनिएकोमा आज असार १८ गतेका लागि निसु तोकिएको थियो । ढिलो भए पनि निर्णय आजै सुनाइने सम्भावना रहेको सर्वोच्च स्रोतले जानकारी दियो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा २०७७ माघ र २०७८ असारमा विभिन्न संवैधानिक निकायमा नियुक्ति गरिएको थियो ।