
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वमन्त्री एवं केन्द्रीय सदस्य मोहन बस्नेतले आफूमाथि 'गम्भीर, अराजनीतिक, अशिष्ट र अमर्यादित' आरोप लगाएको भन्दै आपत्ति जनाएका छन् ।
थापाले केन्द्रीय समिति बैठकमा बस्नेतले आफूमाथि लगाएको आरोपको खण्डन गर्दै भने- 'फोहोर चलाएर म फोहोरी बन्न चाहन्नँ ।'
टेरामाक्स प्रकरणमा धरौटीमा छुटेका बस्नेतले केन्द्रीय समिति बैठकमा गगन थापालाई लक्षित गर्दै आरोप लगाएपछि थापाले ती आरोपलाई 'राजनीतिको तह र सभ्यताको सीमा नाघ्ने' भन्दै प्रश्नसमेत गरे ।
'बाले भन्नुहुन्थ्यो- कसैले आरोप लगाए जवाफ दिइहाल्नुपर्छ । आमाले भन्नुहुन्थ्यो- फोहोर नचलाउनु, फोहोर चलाए आफैं फोहोरी भइन्छ। आज म आमाको कुरा सुन्छु,' उनले भने ।
थापाले सभापति शेरबहादुर देउवालाई प्रत्यक्ष सम्बोधन गर्दै आफ्नो अनुपस्थितिमा केन्द्रीय समिति बैठकमा धम्कीपूर्ण भाषा र अभद्र व्यवहार देखाएको भन्दै आलोचना गरे ।
'म तरुण दलको अनशनरत साथीहरूको माग सम्बोधन गर्न वार्तामा थिएँ । तर बैठकभित्रै एक केन्द्रीय सदस्यले हुँकार मिश्रित धम्की दिनुभयो रे। त्यो नैतिक पतन हो,' उनले भने ।