०५ साउन २०८३, मंगलबार

नेतृत्वबारे बहस नगर्न महासचिव शङ्कर पोखरेलको निर्देशन

असार १८, २०८२
काठमाडौं
नेतृत्वबारे बहस नगर्न महासचिव शङ्कर पोखरेलको निर्देशन

नेकपा (एमाले) महासचिव शङ्कर पोखरेलले राष्ट्रिय महाधिवेशनको मिति तय भइनसकेकाले नेतृत्वबारे बहस नगर्न निर्देशन दिएका छन् ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बागमती प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षसहितको बैठकलाई आज ‘भर्चुअल’ रूपमा सम्बोधन गर्दै उनले अहिले नेतृत्वको विषयमा छलफल नगरी विधि र विधानका बारेमा बहस गर्न आग्रह गरे ।

'राष्ट्रिय महाधिवेशनको मिति निर्धारण नभइसकेको अवस्थामा नेतृत्वको बहस पूर्णतः रोक्नुपर्छ,' महासचिव पोखरेलले भने । एमालेले यही आगामी भदौ २०–२२ गतेसम्म दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सन्‌राइज सम्मेलन केन्द्रमा आयोजना गर्ने निर्णय गरिसकेको छ ।

उनले विधान महाधिवेशनको मिति तय भइसकेको अवस्थामा सबै नेता कार्यकर्तालाई पार्टीको नीति र विधि निर्माणमा केन्द्रित हुन आग्रह गरे ।

महासचिव पोखरेलले राजनीतिक र सांगठनिक प्रतिवेदन केन्द्रीय कमिटीबाट सिधै विधान महाधिवेशनमा प्रस्तुत हुने र विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीबाट छलफलका लागि मातहतका कमिटीमा पठाइने बताए ।

बैठकमा बागमती प्रदेशका जिल्ला अध्यक्षहरूले सदस्यता नवीकरण, नयाँ सदस्यता, टोल कमिटी गठन, पार्टीका अन्य गतिविधिका बारेमा ‘रिपोर्टिङ’ गरेका थिए ।

सो अवसरमा एमाले सङ्गठन विभागका प्रमुख काशीनाथ अधिकारी, बागमती प्रदेशका इन्चार्ज डा राजन भट्टराई र अध्यक्ष कैलाश ढुङ्गेललगायत सहभागी थिए ।

salt training

कमेन्ट गर्नुहोस्