काठमाडौँ, ६ माघ – खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले पदभार ग्रहण गरेका छन् ।
सिंहदरबारमा आज आयोजित कार्यक्रममा पदभार ग्रहण गर्दै मन्त्री सिंहले यसअघि आफूले तयार पारेको खानेपानी सरसफाइसम्बन्धी कार्यक्रमलाई पूरा गर्ने प्रतिबद्धता जनाए ।
“सुक्खाग्रस्त २० जिल्लालाई लक्षित गरेर यसअघि मैले खास कार्यक्रम तर्जुमा गरेको थिएँ, ती कार्यक्रमलाई पूरा गर्नेछु, उपत्यकाको खानेपानी समस्या समाधानका लागि मेलम्ची छिटो ल्याउन लाग्नेछु”– पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने ।
मन्त्री सिंहको दल समाजवादी जनता पार्टीलाई वार्षिक आयव्यय नबुझाएको भन्दै निर्वाचन आयोगले गत वर्ष खारेज गरेको थियो । यसका विरुद्ध उनले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको फैसला भएको छैन । पदभार ग्रहण गरेपछि सञ्चारकर्मीले दल खारेज भएको नेता मन्त्री बन्नुभयो भन्ने प्रश्नमा उनले नेपालको संविधान २०७२ मा आयोगले दल खारेज गर्न पाउने व्यवस्था नभएको दाबी गरे ।
दोस्रोपटक मन्त्री भएर आएका सिंहलाई मन्त्रालयका निमित्त सचिव इन्जिनियर रामचन्द्र देवकोटालगायत कर्मचारीले स्वागत गरेका थिए । नेकपा ९एमाले का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारमा गत साउनसम्म उनी सोही मन्त्रालयमा मन्त्री थिए ।
सहरी विकास मन्त्रालयबाट खानेपानी र सरसफाइसम्बन्धी महाशाखा झिकेर २०७२ असोजमा मन्त्रालय गठन गरिएको थियो ।
यसैगरी नवनियुक्त महिला, बालबालिका तथा समाज कल्याणमन्त्री कुमार खड्काले पनि आजै पदबहाली गरे ।
मन्त्री खड्काले आज पदबहालीका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै जनताको जीवनस्तर उकास्ने आफ्नो मन्त्रीकालको पहिलो प्राथमिकता रहेको बताए ।
उनले भने, “राजनीतिक दल खोल्दा राज्य सत्तामा पुगेर नेपाल राष्ट्रका लागि केही गर्नुपर्छ भन्ने उद्देश्यअनुसार सत्ता साधन भएकाले साधनको प्रयोग गरेर मुलुकलाई अगाडि बढाउन चाहन्छु ।”
मन्त्री खड्काले भने, “राम्रो कामको सुरुआत मैले गर्न सकेँ र पछिल्लो मन्त्रीले यसलाई निरन्तरता पायो भने गन्तव्यमा पुग्न सकिन्छ जति समय मैले पाउँछु राज्य र जनताको हितका लागि गर्नेछु ।”
उनले लोकतन्त्रमा बढी दल हुनु स्वभाविक भएको भन्दै एक दल भएका व्यक्तिले मन्त्री पाउनु स्वभाविक प्रक्रिया भएको बताए । उनले संविधान निर्माणमा साना दलको ठूलो योगदान रहेको उल्लेख गरे ।