
रसुवामा आएको बाढीमा एक सयभन्दा बढी कन्टेनरहरू बगाएको अनुमान गरिएको छ । घटनास्थलमा प्रहरी समेत पुग्न नसकेकाले क्षतिको यकिन विवरण भने आएको छैन ।
रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहमा २५० कन्टेनर पार्क गरेर राखिएकोमा एक सयभन्दा बढी बगेको अनुमान गरिएको हो ।
नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार बन्दरगाहमा २५० कन्टेनरहरू पार्क गरिएको अनुमान छ ।
‘२५० कन्टेनरहरू बन्दरगाहमा रहेको कुरा आएको छ, जसमध्ये केहीले बाहिर निकाल्न सफल भए भने १०० भन्दा बढी कन्टेनर बगाएको अनुमान गरिएको छ’, उनले भने, ‘बन्दरगाहभित्र ५/६ वटा ईभी गाडी पार्क गरिएका थिए, ती बगाए । बन्दरगाह परिसरबाहिर पनि ईभीहरू राखिएका थिए ।’
उनका अनुसार विद्युतीय सवारीहरू बन्दरगाहबाहिर नै पार्क गरिएका थिए । चीनसँगको सीमा नाकाबाट २.५ किलोमिटर दुरीमा सुक्खा बन्दरगाह निर्माण भइरहेको छ ।
भन्सार पास भइसकेका अधिकांश मालसामानहरू बाढीले बगाएको नेपाल उद्योग वाणिज्य महासंघ व्यापार समितिका सभापति सुबोधकुमार गुप्ताले बताए । क्षतिको विवरण नै संकलन गर्न नसक्ने अवस्था रहेको उनको भनाइ छ ।
‘चीनसँगको सबैभन्दा ठूलो नाकामा भन्सार पास भइसकेका मालवस्तुहरू बढीले बगाइसकेको कुरा आइरहेको छ । विस्तृत विवरण संकलन हुन सकिरहेको छैन’, उनले भने, ‘हामीसँग विकल्प छ, अर्को एउटा नाका ।’
सबैभन्दा ठूलो क्षति सवारी साधन आयातकर्ताहरूलाई भएको उनको भनाइ छ ।
अटोमोबाइल्स क्षेत्रमा सबैभन्दा ठूलो धक्का लागेको बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इङ्ककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले लोकान्तरलाई बताइन् ।
सवारी साधनको अयातामा सबैभन्दा ठूलो धक्का लागेको उनको भनाइ छ ।
‘चीनबाट आयात हुने सवारी साधनको ठूलो बाटो बन्द भएको छ, जुन नेपालको अटोमोबाइल्स क्षेत्रका लागि ठूलो धक्का हो । क्षतिको विवरण अझै आएको छैन’, उनले भनिन्, ‘अर्को नाकामा निर्भरता बढेको छ । अधिकांश विद्युतीय गाडीहरू आयात हुने नाका नै बन्द भएपछि ठूलो प्रभाव परेको छ ।’