
मोरङको कटहरी गाउँपालिका–३ मा रहेको इको पावर सोलुसन उद्योग परिसरमा ट्रक चालकको हत्या गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
५४ वर्षीय गोर्खाबहादुर दोङको हत्या गरेको आरोपमा २५ वर्षीय ट्याक्टर चालक दीपेशकुमार कामतलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।
उनका अनुसार प्रारम्भिक अनुसन्धानमा कामतले लाठी प्रहार गरी सर्लाही हरीवन नगरपालिका–१० ताइवन निवासी दोङको हत्या गरेको खुलेको छ ।
मृतक दोङ यही असार १८ गते कटहरीस्थित नवनित अग्रवालद्वारा सञ्चालित इको पावरमा कच्चा पदार्थ पुर्याउन पुगेका थिए ।
उनले चलाएको ना ५ ख ९६१६ ट्रक उद्योग परिसरमा प्रवेश गरेलगत्तै ट्याक्टर चालक कामतसँग विवाद भएको थियो। सोही झगडाका क्रममा कामतले लाठी प्रहार गर्दा दोङको टाउकोमा गम्भीर चोट लागेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
घाइते अवस्थामा रहेका दोङलाई शुरूमा जीवन विकास अस्पताल, त्यसपछि कोशी अस्पताल हुँदै न्यूरो अस्पताल विराटनगर लगिएको थियो । तर, असार १९ गते चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
उपचारमा ढिलाइ र सुरक्षामा खटिएका कर्मचारीको लापरबाहीका कारण दोङको ज्यान गएको मृतककी बहिनी मधुमाया दोङको आरोप छ । ‘उद्योग परिसरमै झगडा हुँदा पनि सुरक्षा गार्ड र उद्योग सञ्चालक नवनित अग्रवालले कुनै हस्तक्षेप गरेनन् । दाजु घाइते भएपछि तुरुन्त ठूला अस्पताल लैजानुपर्नेमा घुमाउँदै ढिलो पुर्याइयो,’ मधुमायाले भनिन्, ‘यसमा उद्योगको चरम लापरबाही देखिन्छ।’
उनका अनुसार गोर्खाको टाउकोमा गम्भीर चोट लागेको थियो । यथोचित उपचारमा ढिलाइ हुँदा उनको मृत्यु भएको उनको दाबी छ ।
मृतक परिवारले घटनामा अन्य व्यक्तिहरूको पनि संलग्नता हुनसक्ने आशंका गर्दै गहन अनुसन्धानको माग गरेका छन् ।
साथै, पीडित परिवारलाई न्यायका साथै दोषीलाई कडा कारबाही र उद्योगबाट उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग उनीहरूको छ ।
मृतक दोङका श्रीमतीका साथै १३ र ९ वर्षका दुई छोरा छन् । ‘अब उनीहरूलाई शिक्षा र पालनपोषणमा समस्या पर्छ,’ मधुमायाले भनिन्, ‘त्यसैले उद्योगले जिम्मा लिनुपर्छ।’
मोरङ प्रहरीले हत्या आरोपमा पक्राउ परेका ट्याक्टर चालक दीपेश कामतविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ।