
एक अर्ब बढीको हुन्डी तथा अभौतिक मुद्रा (क्रिप्टो)को कारोबारमा संलग्न रहेको आरोपमा २ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी घर भई ललितपुर महानगरपालिका- २ सानेपा बस्ने ४३ वर्षीय रुपेशकुमार गुप्ता र भारत बिहार पूर्वी चम्पारण बिजबानी घर भएका २२ वर्षीय विपिन कुमार रहेका छन्।
केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार ललितपुर महानगरपालिका–२ सानेपा कालोपुलमा हुन्डी तथा अभौतिक मुद्राको कारोबार गरिरहेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
ब्यूरोका एसएसपी होबिन्द्र बोगटीका अनुसार उनीहरूले राजतीर्थ ट्रेडर्स नाम गरेको किराना पसलको आवरणमा हुन्डी तथा अभौतिक मुद्राको कारोबार गरिरहेको खुलेको छ ।
प्रहरीले उनीहरूको साथबाट ७४ ग्राम तौलको संरक्षित वन्यजन्तु कस्तुरीको विना (अखेटोपहार) जस्तो देखिने वस्तु १ थान, ८ लाख २० हजार नेपाली रुपैयाँ, १० हजार भारतीय रुपैयाँ र मोबाइल ५ थानसमेत बरामद गरेको छ।
उनीहरूविरुद्ध अभौतिक मुद्राको प्रयोग गर्न नहुने, हुन्डीसम्बन्धी कारोबार गर्न नहुने कसुर र वन्यजन्तुसम्बन्धी कसुरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।