
जुम्लामा चट्याङबाट १९७ भेडा मरेका छन् ।
जिल्लाको गुठीचौर गाउँपालिका–५ स्थित धौलीगाडको ठूलो हाँका पाटनमा सोमबार दिउँसो ४:३० बजे चट्याङ पर्दा १९७ भेडा मरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक रवीनबाबु रेग्मीले जानकारी दिए ।
‘पाटनमा ६ जना किसानका भेडा मरेका रहेका छन् । कुन किसानका भेडा कति मरे छन् भन्ने तथ्यांक संकलन भइरहेको छ’, डीएसपी रेग्मीले भने, ‘पाटनमा चरिरहेका भेडाको बथानमा चट्याङ परेको भन्ने खबर प्राप्त भएको छ ।’
सुरक्षा निकाय र स्थानीयवासीको टोली घटनास्थल पुगेर चट्याङले मरेका भेडाको गणना भइरहेको डीएसपी रेग्मीको भनाइ छ ।
उनका अनुसार चट्याङले घाइते भएका सिंजा गाउँपालिका भाडगाउँका ५२ वर्षका धनबहादुर रावतको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
घाइते रावतको स्वास्थ्य अवस्था सामान्य रहेको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए ।