
चीनतर्फबाट एक्कासी आएको भीषण बाढीले रसुवागढी क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बाढीले बगाएर हालसम्म ९ जनाको ज्यान गएको पुष्टि भएको छ भने अन्य १९ जना अझै पनि बेपत्ताको अवस्थामा छन्।
बेपत्ता हुनेहरूमध्ये २ जना नेपाली प्रहरी, ६ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण रहेका छन्। यस घटनामा फसेका ५७ जनाको भने सफल उद्धार गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ।
बाढीका कारण नेपाल–चीन सिमानामा रहेको मितेरी पुल बगाएको छ। त्यस्तै, रसुवागढी क्षेत्रबाट लोड गरिएको २४ वटा कन्टेनर डब्बा, ६ वटा सिनो ट्रक र ३५ वटा विद्युतीय सवारीसाधन (ईभी) पनि बाढीले बगाएको छ।
भन्सार कार्यालय रसुवाको यार्डमा ठूलो क्षति पुगेको छ भने रसुवागढी हाइड्रोपावरको ड्यामसमेत बाढीको प्रभावबाट अछुतो रहेन। बाढीले ड्याममा समेत क्षति पुर्याएको प्रारम्भिक विवरणहरूबाट थाहा भएको छ।
सुरक्षाकर्मी र स्थानीय प्रशासन घटनास्थलमा परिचालित छन् भने उद्धार तथा राहत कार्यलाई तीव्र पारिएको छ।