२३ असार २०८३, मंगलबार

ट्रम्पलाई थाहै नदिई कसले रोक्यो युक्रेन जान लागेका हतियार ?

असार २५, २०८२
काठमाडौं
ट्रम्पलाई थाहै नदिई कसले रोक्यो युक्रेन जान लागेका हतियार ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई थाहै नदिई रक्षा मन्त्रालय (पेन्टागन)ले युक्रेनलाई हतियार आपूर्ति रोकेको खुलासा भएको छ । हतियार रोकिएको विषयमा आफू जानकार नरहेको भन्दै राष्ट्रपति ट्रम्प आन्तरिक छलफलमा व्यस्त रहेको एसोसिएटेड प्रेस(एपी)ले जनाएको छ ।

एपीले आफ्ना समाचार स्रोतहरूको हवाला दिँदै पेन्टागनको यस्तो निर्णयबाट राष्ट्रपति ट्रम्प अचम्मित भएको रिपोर्टिङ गरेको छ । तर, मंगलबार बसेको मन्त्रिपरिषद् बैठकपछि गरिएको पत्रकार सम्मेलनमा पत्रकारले राष्ट्रपति ट्रम्पलाई 'हतियार रोक्ने निर्णय कसले गर्‍यो ?' भनेर सोधेका थिए ।

त्यसपछि रिसाएका ट्रम्पले भनेका थिए, 'मलाई थाहा छैन, तपाईंले नै भन्नुस् कसले गरेको होला ।' तर रक्षामन्त्री पिट हेगसेथले भने राष्ट्रपतिसँग परामर्श नगरी कुनै कदम नचालेको दाबी गरेका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रपतिको स्वीकृतिबिना अन्त कतैबाट हतियार जाने या रोकिने कुरा नहुने बताए ।

रुसप्रति ट्रम्पको असन्तुष्टि

मंगलबार ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति पुनः आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए । उनले यसअघि हतियार रोकिएको विषयलाई नजरअन्दाज गर्दै भने, 'युक्रेनलाई १० वटा प्याट्रियट मिसाइल पठाउने मेरो वाचा छ ।' तर, अमेरिकी सञ्चारमाध्यमहरूले अमेरिकी भण्डारणमा ती मिसाइलहरूको संख्या कम रहेको दाबी गरेका छन् ।

ट्रम्पले थपे, 'पुटिनका मीठा कुराहरू अर्थहीन छन् । पुटिनले धेरै झुट बोलिरहेका छन् । मैले रुसविरुद्ध प्रतिबन्धहरू लगाउने विषयमा पनि सोचिरहेको छु ।'

उनले आफू रुसप्रति निराश भएको भन्दै पेन्टागनले युक्रेनलाई रोकेको हतियार पुनः पठाउने बताए । यता, अमेरिकी मन्त्रिपरिषद्‌मा हतियारसम्बन्धी विषयलाई लिएर नोकझोक चलिरहँदा उता रुस र युक्रेनबीचको द्वन्द्व झन् बढिरहेको छ ।

युक्रेनले कुर्स्क शहरको समुद्र तटमा गरेको ड्रोन आक्रमणका कारण तीन जनाको मृत्यु र सात जना घाइते भएका छन् । मृत्यु हुनेमा एक रुसी सैनिक पनि रहेको रुसी अधिकारीहरूले बताएका छन् ।

त्यस्तै, युक्रेनले रिल्स्क सहरको अस्पतालमा पनि ड्रोन आक्रमण गरेको रुसी अधिकारीहरूले आरोप लगाएका छन् । युक्रेनले भने आफूले नागरिकमाथि आक्रमण नगरेको र बरू सैन्य सुविधा, कमान्डर र रणनीतिक पूर्वाधारमा केन्द्रित रहेर हमला गरिएको दाबी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्