०७ असार २०८३, आइतबार

रसुवागढी नाकामा दुवै तर्फबाट सम्पर्क टुट्यो

असार २५, २०८२
काठमाडौं
रसुवागढी नाकामा दुवै तर्फबाट सम्पर्क टुट्यो

मङ्गलबार बिहान आएको बाढीले नेपाल-चीन जोड्ने मितेरी खोलाको पुल बगाउनुका साथै रसुवागढी नाकामा नेपालबाट जाने बाटो पनि नदीले बगाएपछि दुवै तर्फको सम्पर्क टुटेको छ ।

मंगलबारदेखि नै बाढी प्रभावित क्षेत्रमा रहेका नेपाली कांग्रेसका नेता एवं सांसद मोहन आचार्यले त्यहाँको पछिल्लो वस्तुस्थितिबारे जानकारी गराएका हुन् ।

उनी मङ्गलबार दिउँसो प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्री र ऊर्जामन्त्रीसँगै हेलिकप्टरमा रसुवागढी नाका पुगेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले खोज तथा उद्धारको कामलाई प्रभावकारी बनाउन निर्देशन दिएका थिए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा मन्त्रालयअन्तर्गत विद्युत् संरचना तथा जलविद्युत् आयोजना मर्मत, पुनःस्थापना र सम्भावित थप जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी तत्परताका साथ अगाडि बढाइने बताएका थिए ।

रसुवाबाट प्रतिनिधिसभामा निर्वाचित आचार्य गएराति रसुवागढी नाकामा बास बसेर प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँग घटनाका विषयमा जानकारी लिँदै आगामी योजनाका बारेमा छलफल गरेका थिए ।

बाढीपहिरोका कारण हाल गोसाइँकुण्ड गाउँपालिका-२ मा पर्ने रसुवागढी, टिमुरे, घट्टेखोला क्षेत्रमा विद्युत् अवरुद्ध हुनुका साथै टेलिफोन सेवाले समेत काम नगरेको सांसद आचार्यले बताए ।

उनका अनुसार बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल, रसुवागढी जलविद्युत् आयोजनाको बाँध, इन्टेक, ट्रान्सपोर्ट र भन्सारमा ल्याएर राखिएका गाडी बगाएका छन् । यस्तै, उक्त बाढीमा परेर नौ जनाको मृत्यु हुनुका साथै १९ जना बेपत्ता भएका छन् ।

बाढीले रसुवागढी नाकाबाट स्याफ्रुबेंसीसम्मको बाटोमा क्षति पुर्‍याएको छ भने सो स्थानमा आवतजावतसमेत बन्द भएको सांसद आचार्यले जानकारी दिए । नयाँ बाटो निर्माण गर्न नसकेसम्म आवतजावतमा समस्या हुने उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्