
अस्ट्रेलियन क्रिकेट टोलीका पूर्वखेलाडी गोर्डन रोर्कको निधन भएको छ । उनको ८७ वर्षको उमेरमा निधन भएको अस्ट्रेलियन सञ्चारमाध्यमले जनाएका छन् । उनी आफ्नो समयका प्रभावशाली तीब्रगतिका बलर थिए ।
क्रिकेट अस्ट्रेलियाले उनको निधनप्रति गहिरो दु:ख व्यक्त गरेको छ । उनले अस्ट्रेलियाका लागि चारवटा टेस्ट खेल्दै १० विकेट लिएका थिए । उनले न्यू साउथ वेल्सका तर्फबाट व्यावसायिक क्रिकेट पनि खेलेका थिए ।
उनले सन् १९५९ मा इङ्ल्यान्डविरुद्धको चौथो एसेस टेस्टमार्फत् अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । उनले आफ्नो पहिलो टेस्टको पहिलो पालीमै केवल २३ रन खर्चिएर तीन विकेट लिएका थिए । उक्त टेस्टमा उनले कूल पाँच विकेट लिएका थिए ।
उनले आफ्नो अन्तिम टेस्ट भने सन् १९५९ को डिसेम्बरमा भारतविरुद्ध खेलेका थिए । उनको अन्तर्राष्ट्रिय खेल जीवन भने लामो रहेन । उनले केवल २५ वर्षको उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।
स्वास्थ्य समस्याका कारण उनले अन्तर्राष्ट्रिय खेल जीवनबाट बिदा लिएका थिए । भारत भ्रमणका क्रममा स्वास्थ्य समस्या देखिएपछि उनी खेल जीवनबाट टाढिएका थिए ।
उनी कलेजो सम्बन्धी रोगबाट पीडित थिए । उनले ३६ वटा प्रथम श्रेणीको क्रिकेट खेल्दै कूल ८८ विकेट लिएका थिए ।