
नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका कारण ठूलो क्षति हुन थालेकाले चीनसँगको सूचना सङ्कलन तथा विपद्बाट हुने क्षति न्यूनीकरणका सन्दर्भमा आवश्यक समन्वय बढाइने भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज पत्रकार सम्मेलन गर्दै सूचना सङ्कलन र विपद् व्यवस्थापनसम्बन्धी कामका लागि समन्वय बढाउने निर्णय गरेको प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले जानकारी दिए ।
प्रधानमन्त्री अध्यक्ष रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले रसुवा बाढीमा परेर मृत्यु भएका तथा बेपत्ताका परिवारलाई प्रचलित कानुनअनुसार तत्काल राहत उपलब्ध गराउने व्यवस्था गृह मन्त्रालयले मिलाउने र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
बैठकले नेपाल–चीन जोड्ने मितेरी पुल बगाई आवागमन बन्द भएकाले पुल र सडक पुनःनिर्माण गरी रसुवागढी नाका सञ्चालन गर्न परराष्ट्र मन्त्रालयमार्फत् मित्रराष्ट्र चीनसँग समन्वय गर्ने निर्णय भएको उनले जानकारी दिए ।