
न्यायालयबाट एक वर्ष काराबासको सजाय पाएका ब्राजिलको राष्ट्रिय फुटबल टोलीका चर्चित प्रशिक्षक कार्लो एन्सेलोट्टीले जेलमा भने बस्नु नपर्ने भएको छ । कर छलीको आरोपमा स्पेनको एक अदालतले बुधबार उनलाई एक वर्ष कारावासको सजया सुनाएको थियो ।
६६ वर्षीय एन्सेलोट्टी सन् २०२५ मै ब्राजिलियन टोलीको प्रमुख प्रशिक्षक बनेका हुन् । उनले विश्वका थुप्रै चर्चित क्लबमा प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् । ब्राजिलियन टोलीमा आबद्ध हुनुअघि उनी स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडको प्रमुख प्रशिक्षक थिए ।
एन्सेलोट्टी पहिलो पटक सन् २०१३ देखि सन् २०१५ सम्म रियल म्याड्रिडको प्रशिक्षक बनेका थिए । त्यतिबेला उनले आफ्नो पारिश्रमिकबाट १० लाख युरो कर छली गरेको आरोप एन्सेलोट्टीमाथि लागेको थियो । सोही आरोपमा न्यायालयले उनलाई एक वर्षको काराबास सजाय सुनाएको हो ।
अदालतले एन्सेलोट्टीलाई तीन लाख ८६ हजार तीन सय ६१ युरो जरिवाना तिराउने निर्णय पनि गरेको छ । स्पेनको कानुनअनुसार, अदालतले गम्भीर प्रकृतिका फौजदारी अपराधवाहेक अन्य मुद्दामा दुई वर्षसम्मको जेल सजाय सुनाए पनि सजाय पाउने व्यक्तिले निश्चित शर्तका आधारमा कारावास बाहिरै बस्ने सुविधा पाउँछन् ।
सोही प्रावधानअन्तर्गत प्रशिक्षक एन्सेलोट्टीले पनि जेल जानु नपर्ने भएको हो । प्रशिक्षक एन्सेलोट्टीले भने लामो समयदेखि आफूमाथि लागेको आरोप निराधार भएको दाबी गर्दै आएका थिए । उनले त्यतिबेला आफूले रियलसँग निश्चित रकम पाउनु पर्ने र कर क्लबले नै तिर्ने गरी सम्झौता गरेको दाबी गर्दै आएका थिए ।
यसअघि, सन् २०१७ मा अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीलाई पनि कर छलीको आरोपमा अदालतले २१ महिनाको जेल सजाय सुनाएको थियो । तर, पछि उनको सजाय घटाइएको थियो । त्यसपछि उनले दुई लाख ५२ हजार युरो जरिवाना तिरेर उन्मुक्ति पाएका थिए ।
यसैगरी, सन् २०१९ मै कर छलीको आरोपमा पोर्चुगलका प्रभावशाली खेलाडी क्रिस्टियानो रोनाल्डोले पनि एक कजरोड ८८ लाख युरो जरिवाना तिर्नु परेको थियो । उनलाई जेल सजाय भने भएको थिएन । मेसी स्पेनिस क्लब बार्सिलोना र रोनाल्डो रियल म्याड्रिडका पूर्वखेलाडी हुन् ।
यसैगरी, सन् २०१११–१२ सिजनमा रियल म्याड्रिडको प्रशिक्षक हुँदा प्रभावशाली प्रशिक्षक होजे मोउरिन्होले पनि कर छलीको आरोपमा २२ लाख युरो जरिवाना तिर्नु परेको थियो ।