११ साउन २०८३, सोमबार

आईसीसी टी-२० विश्वकप छनोट : नेपालको पहिलो खेल कुवेत र दोस्रो खेल जापानसँग

असार २६, २०८२
काठमाडौं
आईसीसी टी-२० विश्वकप छनोट : नेपालको पहिलो खेल कुवेत र दोस्रो खेल जापानसँग

आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया तथा प्रशान्त क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । छनोट प्रतियोगिता आगामी अक्टोबर ८ देखि १७ तारिखसम्म ओमानमा आयोजना हुँदैछ ।

समूह ‘बी’मा नेपालसँगै कुवेत र जापान परेका छन् । प्रतियोगितामा सहभागी ९ वटा टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा मलेसिया, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् । समूह ‘सी’मा आयोजक ओमान, पपुवा न्यू गिनी र सामोआ रहेका छन् ।

समूहगत चरणमा सहभागी सबै टोलीले एक-अर्कासँग एक-एक खेल खेल्नेछन् । अन्तिम चरणको छनोट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल अक्टोबर ८ तारिखमा कुवेतसँग खेल्नेछ । नेपाली टोलीले आफ्नो दोस्रो खेल अक्टोबर १० तारिखमा जापानसँग खेल्नेछ ।

प्रारम्भिक चरणको खेलपछि प्रत्येक समूहबाट दुई टोली प्रतियोगिताको ‘सुपर–६’ चरणमा प्रवेश गर्नेछन् । ‘सुपर–६’ चरणका ६ टोलीलाई एउटै समूहमा राखेर प्रतिस्पर्धा गराइने छ । त्यसपछि अंक तालिकाको माथिल्लो तीन स्थानमा रहने टोली आगामी विश्वकपमा छनोट हुनेछन् ।

आईसीसी टी-२० विश्वकपको १०औं संस्करण सन् २०२६ मा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ । उक्त विश्वकपमा २० वटा टोलीले सहभागिता जनाउने छन् । त्यसमध्ये १३ टोलीको टुंगो लागिसकेको छ ।

भारत र श्रीलंकाले आयोजकका रूपमा सन् २०२६ को टी-२० विश्वकप खेल्नेछन् । अस्ट्रेलिया, अफगानिस्तान, बंगलादेश, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिज भने अघिल्लो संस्करणमा गरेको प्रदर्शनका आधारमा सन् २०२६ को विश्वकपमा छानिएका हुन् ।

आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तान सन् २०२४ जुन ३० सम्मको आईसीसी वरीयताका आधारमा आगामी विश्वकपमा स्थान बनाउन सफल भएको हो । क्यानडा भने अमेरिकी क्षेत्रबाट छनोट चरण पार गर्दै विश्वकपमा छनोट भएको हो ।

अब एसिया तथा प्रशान्त क्षेत्रबाट तीन, अफ्रिका क्षेत्रबाट दुई र युरोपेली क्षेत्रबाट दुई टोली विश्वकपमा छनोट हुन बाँकी छ । नेपालले हालसम्म दुईपटक टी-२० विश्वकप खेलिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्