
काठमाडौंमा निर्माणाधीन एक भवनमा लिफ्टको सिक्री चुँडिएर दुई जना मजदुरको मृत्यु भएको घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
गत असार १७ गते साँझ पोतला डेभलपमेन्ट प्रालिको निर्माणाधीन नौ तले पक्की घरको लिफ्ट बनाउन खटिएका दुई मजदुर लिफ्टको डोरी चुँडिँदा भुइँमा खसेका थिए ।
घाइते उनीहरूलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो । घाइतेद्वय कैलालीका ३२ वर्षीय प्रदेशी चौधरी र बर्दियाका २२ वर्षीय विशाल चौधरीलाई अस्पतालले साँझ मृत घोषणा गरेको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराका अनुसार लिफ्टमा चढेर ग्रिज लगाउने क्रममा पाँचौं तलासम्म पुगेपछि अचानक फलामको सिक्री चुँडिएको थियो ।
‘हामीले प्रारम्भिक अध्ययन सकेका छौं’, एसपी बोहराले भने, ‘परिवारको उजुरीका आधारमा ज्यान सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। भवितव्य दुर्घटना हो कि के हो अनुसन्धानपछि थाहा हुन्छ ।’
घटनापछि ठेकेदार र मृतक परिवारले आन्तरिक रूपमा सहमति गरेर शव बुझेका थिए । एक प्रहरी अधिकृतका अनुसार बीमाबापतको रकम र मृतक परिवारले मागेका बमोजिमको रकम दिने सहमति भएपछि परिवारले शव बुझेका थिए ।