
विश्व फुटबलको चर्चित नाम हो, लुका मोड्रिक । मोड्रिक लामो समयदेखि स्पेनिस क्लब रियल मड्रिडको पर्यायका रूपमा रहँदै आएका छन् । हुन पनि उनले आफ्नो खेलजीवनको ऊर्जाशील समय रियल मड्रिडमै खर्चिए ।
क्रोएसियन राष्ट्रिय टोलीका ३९ वर्षीय यी प्रभावशाली मिडफिल्डरले रियल मड्रिडका लागि निरन्तर १३ वर्ष विश्वभरका विभिन्न स्टेडियममा पसिना बगाए । कुनै पनि खेलाडीका लागि यो सानो समय होइन ।
यसक्रममा मोड्रिकले रियल मड्रिडका लागि पाँच सय ९७ खेल खेले । रियल मड्रिडको थुप्रै महत्त्वपूर्ण सफलतामा गतिलो योगदान पनि गरे । त्यसैले त रियल मड्रिडले जितेका विभिन्न २८ वटा उपाधिमा उनी पनि हिस्सेदार बन्न पुगे ।
तर, यी चर्चित खेलाडी अब रियल मड्रिडको जर्सीमा देखिने छैनन् । उनले बुधबार राति रियल मड्रिडका लागि अन्तिम खेल खेले । फिफा क्लब विश्वकपमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)विरुद्ध उनले रियल मड्रिडका लागि अन्तिम खेल खेले ।
तर, १३ वर्ष बिताएको आफ्नो प्रिय क्लबका लागि उनको अन्तिम खेल सुखद् भने रहेन । रियल मड्रिड क्लब विश्वकपको सेमिफाइनलमा च्याम्पियन्स लिग विजेता पीएसजीसँग ४-० गोलको फराकिलो अन्तरले पराजित हुन पुग्यो ।
‘मोड्रिकका लागि मड्रिड बसाइको हरेक क्षण स्मरणी रह्यो तर, अन्तिम खेल भने बिर्सनलायक बन्यो,’ रियलका प्रमुख प्रशिक्षक जाभी एलोन्सोले भने । रियल मड्रिडमै रहँदा मोड्रिकले विश्व फुटबलकै सर्वाधिक प्रतिष्ठित अवार्ड बालोन डी’ओर पनि चुम्ने अवसर पाए ।
मोड्रिकले सन् २०१८ मा यो अवार्ड हात पारेका थिए । समकालीन विश्व फुटबलका महान खेलाडी क्रिस्टियानो रोनाल्डोसँग लामो समय रियल मड्रिडमा सहकार्य गरेका मोड्रिकले क्लबलाई चारपटक घरेलु लिगको उपाधि पनि चुमाए ।
रियल मड्रिडलाई त्योभन्दा पनि ठूलो उपाधि चुमाउन उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । मोड्रिकसहितको टोलीले रियललाई ६ पटक च्याम्पियन्स लिगको उपाधि दिलाएको छ । उनी सन् २०१२ मा इङ्लिस क्लब टोट्टनहामबाट रियलमा आबद्ध भएका थिए ।

‘म यो क्षण कहिल्यै नआओस् भन्ने चाहन्थेँ । तर, समय कसैको नियन्त्रणमा छैन । अब म आफ्नो प्यारो क्लबको जर्सीमा सजिएर मैदानमा ओर्लने छैन । यो फुटबलमा हो र यस्ता क्षणहरू आइरहन्छन्,’ अन्तिम खेल खेलेपछि भावुक देखिएका मोड्रिक भन्छन्, ‘हरेक अन्त्य नयाँ शुरूआत पनि हो ।’
मोड्रिकले रियलसँग बिदा हुनुपर्दाको क्षण आफ्ना लागि निकै दु:खद् रहेको पनि बताएका छन् । ‘सन् २०१२ मा रियलको जर्सी लगाउन म आतुर थिएँ तर, अहिले त्यही क्लबको जर्सी फुकाल्दा मेरो हात नराम्ररी हात कापिरहेको छ,’ उनले भनेका छन् ।
समाचारमा जनाइए अनुसार, समकालीन विश्व फुटबलका यी प्रभावशाली खेलाडी इटालियन सिरिए क्लब एसी मिलानमा आबद्ध हुने तयारीमा छन् । एसी मिलानका प्रमुख प्रशिक्षक मासिमिलियानो एलेग्रीले पनि मोड्रिक आफ्नो क्लबमा आबद्ध हुन लागेको बताएका छन् ।
मोड्रिकले यसअघि नै आफूले रियल मड्रिड छाड्न लागेको संकेत गरेका थिए । उनले गत मेमा एक प्रसंगमा आफू रियल मड्रिडबाट बाहिरिने बताएका थिए । ५७ वर्षीय एलेग्री एसी मिलानमा आएपछि नै मोड्रिकसँग उनले कुराकानी अगाडि बढाएका थिए ।
मोड्रिक क्रोएसियन राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्य पनि हुन् । उनले देशका लागि सन् २०२६ को विश्वकप पनि खेल्नेछन् । ‘रियल मड्रिडमा आबद्ध भएपछि नै मेरो व्यक्तित्वमा निखार आएको हो, फुटबलरका रूपमा त अझ बढी,’ मोड्रिक भन्छन् ।
एउटा ऐतिहासिक क्लबको सुनौलो पुस्ताको खेलाडीका रूपमा आफ्नो परिचय स्थापित गराउन पाउनु आफ्ना लागि गौरवको विषय भएको उनी बताउँछन् ।
मोड्रिकका लागि रियलबाट अन्तिम सिजनको ला लिगा पनि सुखद् रहेन ।
सन् २०२४–२५ सिजनको ला लिगामा रियल दोस्रो भयो । रियललाई चार अंकले उछिन्दै चिर प्रतिद्वन्द्वी बार्सिलोनाले ला लिगाको उपाधि चुम्यो । यो सिजनको ला लिगामा मोड्रिकले दुई गोल गरे भने ६ गोलका लागि पास उपलब्ध गराएका थिए ।
रियल मड्रिडसँग पछिल्लो पटक मोड्रिकले एक वर्षका लागि सम्झौता नवीकरण गरेका थिए । त्यो सम्झौता अवधि क्लब विश्वकपसँगै सकिएको छ । १३ वर्ष लामो रियल मड्रिड बसाइका क्रममा उनले क्लबका लागि पाँच सय ९७ खेल खेल्दै ४३ गोल गरे । यस क्रममा उनले ९५ गोलका लागि आफ्ना साथीलाई पास पनि उपलब्ध गराए ।

‘मोड्रिक जीवनभर हाम्रो हृदयमा रहने छन् । टोलीमा उनको अभाव महसुस गर्नेछौँ,’ रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज भन्छन्, ‘उनी समकालीन विश्व फुटबलका नायकमध्ये एक हुन् र आगामी दिनमा पनि मैदानमा आफ्नो जादु देखाइरहने छन् ।’
रियल मड्रिडमा रहँदा उनले चुमेका २८ ट्रफीमध्ये दुईवटा उपाधि आफ्नै कप्तानीमा हात पारेका थिए । उनले रियललाई ६ पटक फिफा क्लब विश्वकपको उपाधि चुमाउन पनि महत्त्वपूर्ण योगदान गरेका छन् ।
यसका अतिरिक्त उनले रियललाई पाँचवटा युरोपियन सुपर कप, दुईवटा कोपा डेल रे र पाँचवटा स्पेनिस सुपर कपको उपाधि पनि दिलाएका छन् ।
लुका मोड्रिकसँग एउटा रमाइलो प्रसंग पनि जोडिएको छ ।
मोड्रिक बालोन डी’ओर अवार्डमा समकालीन विश्व फुटबलका दुई महान खेलाडी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको एकाधिपत्य तोड्ने एकमात्र खेलाडी पनि हुन् । सन् २००७ पछि मेसी र रोनाल्डोका अतिरिक्त मोड्रिकले मात्र यो अवार्ड जित्न सकेका थिए ।