
खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्जको पानी सङ्कटको तत्काल र दीर्घकालीन समाधानका लागि सङ्घीय सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
वीरगञ्ज महानगरमा आयोजित सर्वपक्षीय छलफल कार्य क्रममा मन्त्री यादवले स्थानीय तहसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने बताए ।
“वीरगञ्जको पानी सङ्कटको तत्काल र दीर्घकालीन समाधानका लागि सङ्घीय सरकार प्रतिबद्ध छ । स्रोत परिचालन, प्राविधिक सहायता र नीति निर्माणमा सरकारले कुनै कसर बाँकी राख्ने छैन”, उनले भने, “महानगरसँग सहकार्य गर्दै यहाँको पानीको समस्याको स्थायी समाधानको बाटोमा अघि बढाउने योजना छ ।”
महानगरका प्रमुख राजेशमान सिंहले पानीको अभाव भएका क्षेत्रमा ट्याङ्कीमार्फत आपूर्ति गर्दै आएको र ट्याङ्करमार्फत दैनिक करिब डेढ लाख लिटर पानी वितरण भइरहेको बताए ।