
नेपाल राष्ट्र बैंकले विदेश यात्रा गर्ने नेपाली नागरिकहरूका लागि साथमा लैजान सकिने वैदेशिक मुद्राको सीमा बढाएको छ ।
आज सार्वजनिक मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले यो सीमा २५ सय अमेरिकी डलरबाट बढाएर ३ हजार अमेरिकी डलर पुर्याएको हो ।
यो निर्णयले वैदेशिक भ्रमणमा जाने नेपालीलाई खर्च धान्न सहज हुने अपेक्षा गरिएको छ । हालको प्रणालीअनुसार एक पटकको वैदेशिक यात्रा (टुरिष्ट भिसा)मा नेपाली नागरिकले अधिकतम २५ सय डलर मात्रै लैजान सक्थे ।
नयाँ व्यवस्थाले यो सीमा बढाएर ३ हजार डलर पुर्याएपछि अन्तर्राष्ट्रिय यात्रामा खर्च पुर्याउन थप सहज हुनेछ ।
अन्तर्राष्ट्रिय हवाई टिकट, होटल बुकिङ, स्थानीय यातायात र दैनिक खर्च बढिरहेको वर्तमान परिस्थितिमा २५ सय डलर अपर्याप्त भएको गुनासो आएको थियो ।
राष्ट्र बैंकले विदेशी मुद्राको व्यवस्थापनलाई सन्तुलनमा राख्ने, अवैध हुन्डी कारोबारमा कमी ल्याउने र वैध माध्यमबाट मुद्रा विनिमय प्रवर्द्धन गर्ने उद्देश्यले यो सीमा समायोजन गरेको हो ।