
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठससहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले शुक्रबार ६ व्यक्ति र एक कम्पनीविरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत नीमबहादुर वली र वर्ल्ड डिस्ट्रीब्युशन नेपाल प्रालि कान्तिपथ, काठमाडौंका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण श्रेष्ठलाई प्रतिवादी कायम गरिएको छ ।
सबै प्रतिवादीविरुद्ध १५ करोड ८८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
केन्द्रले गुरुयोजना तयार नगरी मिलेमतोमा ३१ करोडको लागत अनुमान तयार गरी खरिद गरेको पाइएको आयोगको दाबी छ ।
नेपाल सरकारलाई हानी पुर्याउने बदनियतले निर्धारित सर्त तथा मापदण्डविपरीत २.१ गिगाहर्जको गुणस्तरहीन प्रोसेसर रहेको स्टोरेज आपूर्ति गरी झुट्टा कागजात पेस गराई १५ करोड ८८ लाख भुक्तानी दिएको अभियोगपत्रमा उल्लेख छ ।